महराविरुद्ध सुन तस्करी मुद्दा, ८ करोड बढीको बिगो र तीन वर्ष कैदको माग
महराविरुद्ध सुन तस्करी मुद्दा, ८ करोड बढीको बिगो र तीन वर्ष कैदको माग
काठमाडौं । सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध मुद्दा दर्ता भएको छ ।
जिल्ला सरकारी वकिल कार्यालयका अनुसार महरामाथि ८ करोड ५५ लाख रुपैयाँ बिगो र ३ वर्षभन्दा बढी कैद सजाय माग गर्दै अभियोग दर्ता गरिएको हो ।
महरामाथि विद्युतीय चुरोट (भेप)मा लुकाएर ल्याइएको सुन भन्सारबाट छुटाउन दबाब दिएको आरोप छ । सीआईबीले आइतबार उनलाई पक्राउ गरेको थियो ।
मंगलबारदेखि थुनछेक बहस सुरु हुँदैछ । त्यसपछि उनलाई थुनामा राख्ने वा धरौटीमा रिहा गर्ने निर्णय हुनेछ ।
२०७९ पुसमा काठमाडौं आएका चिनियाँ नागरिक लि हानसोङले ल्याएका दुई सुटकेसमा शंका लागेपछि भन्सारले नियन्त्रणमा लिएको थियो । भेपमा सुन लुकाइएको सूचना पाएपछि सुन तस्करी भएको पुष्टि गर्दै सीआईबीले अनुसन्धान अघि बढाएको थियो ।
सो प्रकरणमा भन्सारका कर्मचारीदेखि विदेशी नागरिकसम्म संलग्न देखिएका छन् भने महरा र उनका छोरा राहुल महरासहित अन्यलाई मतियारका रूपमा पूरक अभियोजन गरिएको छ ।













