७ श्रावण २०८३, बिहिबार

सेबोन कर्मचारी आन्दोलित बन्दा पूँजी बजार अस्थिर, बैंकर्स संघले भन्यो- सरकारले समस्या समाधान गरोस्



काठमाडौं । गत भदौ ३१ गते नेपाल धितोपत्र बोर्डका कर्मचारीहरुको सेवा सुविधा सम्बन्धमा जारी गरेको निर्देशन कार्यान्वयनका क्रममा उत्पन्न असमझदारीका कारण बोर्डमा कार्यरत कर्मचारीहरू पछिल्लो ३ हप्तादेखि आन्दोलित बन्दा बोर्डबाट प्रवाह हुने सेवा तथा सम्पूर्ण कार्यहरू ठप्प भएका छन् ।

कर्मचारीहरुको आन्दोलनले मर्चेण्ट बैंकरहरुले नियमित रुपमा बोर्डमा बुझाउनु पर्ने विवरण÷कागजात बुझाउन नसक्नुको साथ धितोपत्रको सार्वजनिक निष्काशनसँग सम्बन्धित कार्यहरु लगायत नेपाल धितोपत्र बोर्डबाट प्रवाह हुने सम्पूर्ण कार्यहरू ठप्प भएको भन्दै बैंकर्स संघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

देशको वर्तमान विषम परिस्थितिमा नेपालको पूँजी बजारको सर्वोच्च नियामक निकायका रूपमा रहेको नेपाल धितोपत्र बोर्डमा यस प्रकारको अन्यौलको स्थिति सृजना हुनु र सम्बन्धित निकायबाट उचित सम्बोधन हुन नसक्दा झन् असहज परिस्थिति सृजना हुँदै गएको संघले जनाएको छ ।

नेपाल धितोपत्र बोर्ड मातहतका सम्पूर्ण सङ्गठित संस्था, सूचीकृत कम्पनीहरू लगायत पूँजी बजारका अन्य सहभागीहरुको निरन्तर रुपमा नियमन तथा सुपरिवेक्षण गर्नुपर्ने तथा पूँजीबजार सुधार कार्यदलले सुझाएका सुझावहरु कार्यन्वयन गर्नुपर्ने संघको सुझाव छ ।

यस्तो असहज अवस्थालाई समयमा नै उचित समधान गरी बोर्डबाट प्रवाह हुने सम्पूर्ण कार्यहरु सूचारु गर्दा पूँजी बजारको सञ्चालन, बजारको स्थायित्व तथा धितोपत्रको दोश्रो बजारप्रति आम लगानीकर्ताहरुको मनोवल बढ्ने संघको विश्वास छ ।
धितोपत्र नियामक निकायहरुको अन्तर्राष्ट्रिय छाता संगठन (आइओएससीओ) सिद्धान्त अनुसार नियामक निकायको स्वायत्तता, संस्थागत निरन्तरता र स्थायित्व कायम रहनु अत्यावश्यक हुन्छ ।

यस सन्दर्भमा, नेपाल धितोपत्र बोर्डको स्वायत्तता र पूँजी बजारको स्थायित्वलाई मध्यनजर गरी आन्दोलनरत कर्मचारीहरूसँग सकारात्मक संवाद र सहमतिको माध्यमबाट हालको अन्यौलजन्य परिस्थितिको यथासिघ्र समाधान निकाल्नुहुन यस नेपाल मर्चेण्ट बैंकर्स संघले नेपाल सरकार, अर्थ मन्त्रालय र नेपाल धितोपत्र बोडलाई आग्रह गरेको छ ।


प्रतिक्रिया दिनुहोस्