६१ किलो सुन तस्करी: अर्बौं बिगोसहित शुद्धीकरण मुद्दा दायर - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

६१ किलो सुन तस्करी: अर्बौं बिगोसहित शुद्धीकरण मुद्दा दायर



काठमाडौँ । दुई वर्ष अघि ६१ किलो सुन तस्करी गरेको आरोपमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले आरोपी जीवन चलाउने र केही चिनियाँ नागरिकसहितलाई मुद्दा दायर गरेको छ ।

२०८० साउन २ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भएको ६१ किलो सुन तस्करी प्रकरणमा संलग्नहरुलाई सम्पत्ति शुद्धीकरण गरेको कसुर स्थापित गरि विभागले सोमबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो।

उक्त सुन तस्करीको काण्ड पक्रिएपछि राजस्व अनुसन्धान विभागले सुनसहित संलग्न केहीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो । उनीहरु विरुद्ध प्रहरीले मुद्दा चलाइसकेको छ। त्यसपछि विभागले सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान थालेको थियो।

विभागका अनुुसार जीवन चलाउनेका नाममा १५ करोड ३० लाख ५१ हजार रुपैयाँ मूल्यका विभिन्न ३२ कित्ताको जग्गा भेटिएको छ। चलाउने सञ्चालक रहेको मष्टा ग्रुप प्रालिको चुक्ता पुँजी १५ करोड रहेको देखिएको छ। यो कम्पनीसँग ६ करोड ६४ लाख ४६ हजार बराबरको सामान मौज्दात रहेको विभागले फेला पारेको छ ।

त्यस्तै करिब ७४ करोड ५१ लाख रुपैयाँ उनले बजारबाट उठाउन बाँकी रहेको देखिएको छ भने प्रालिको नाममा झण्डै ३१ करोड मूल्यको जग्गा र ५४ लाख मूल्यको घर पनि रहेको आरोपपत्रमा भनिएको छ ।

यसरी जम्माजम्मी १ अर्ब ४५ करोड ५४ लाखको सम्पत्ति उनीसँग देखिएको विभागले जनाएको छ। विभागले दुई वर्षअघि तस्करी गरेर ल्याइएको ६० किलो ७१६ ग्राम सुनको मूल्य ५८ करोड ५६ लाख नौ हजार ५६८ रुपैयाँ पर्ने विवरण पनि विभागले दिएको छ । त्यस बखतको मूल्य अर्थात् प्रतितोला १ लाख १२ हजार ५०० का दरले हिसाब गरिएको विभागको आरोपत्रमा उल्लेख छ ।

यसबाहेक हिमालयन बैंकमा ३ करोड ५२ लाख mिलएको देखिएको छ। यसरी कुल मिलाएर २ अर्ब ७ करोड ६२ लाख १३ हजार ५१६ रुपैयाँको बिगो हिसाब निकालेर विभागले उक्त बिगो दाबी सहित मुद्दा दायर गरेको हो ।

विभागले चलाउनेका साथै अलेक्स भन्ने याओ पुचेङ, अलि भन्ने लि वेन त्सुङ, रोगर भन्ने लि नेङकाइ, डिङ शेग फा, टाँसी भन्ने थुप्तिङ छिरिङ्ग, हर्कराज राई र लि चछ्याङका लागि उक्त झण्डै ६१ किलो सुनको तत्कालीन मूल्यका आधारमा ५८ करोड ५६ लाख ९ हजार ५६८ रुपैयाँ संयुक्त बिगो दाबी गरेको छ ।

ती चिनियाँ नागरिकहरु विगतमा नेपालको जेलमा रहे पनि दुई महिना अघिको जेनजी आन्दोलनका दौरान जेल तोड्ने क्रममा भागेको प्रहरी स्रोतको दाबी छ ।

उनीहरु बाहेक पनि दावा छिरिङ, दिलिप भुजेल, सुमन खरेल र भोलासाह सोना पनि विभागको मुद्दामा समेटिएका छन् । मष्टा ग्रुपलाई पनि कानूनी व्यक्तिको रुपमा प्रतिवादी बनाइएको छ । उनीहरुलाई कुल १ अर्ब २७ करोड ६८ लाख ५७ हजार ९४७ रुपैयाँ बिगो कामय गरी मुद्दा दायर गरिएको विभागले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्