भारतीय इभी मार्केट : टाटालाई नै नम्बर वानको ताज, कुन ब्रान्ड कति बिक्यो ?
काठमाडौं । भारतीय बजारमा एकै महिना इलेक्ट्रिक सवारी (इभी) बिक्री ९ प्रतिशत वृद्धि भएको छ । सन् २०२५ को अक्टोबर महिनामै साढे १७ हजार इभी बिक्री भएको देखिन्छ ।
तथ्याङ्क अनुसार गत सेप्टेम्बरमा विभिन्न कम्पनीहरुले १६ हजार ३५४ युनिट इभी बेचेका थिए । तर, अक्टोबरमा भने थप १ हजार ४१८ अर्थात् १७ हजार ७७२ युनिट इभी बिक्री भएका छन् । एक महिनामा कम्पनीहरुले इभी बिक्रीदर ८.६७ प्रतिशत बढाएको देखिन्छ ।
बिक्रीदरका आधारमा टाटा मोटर्स नै नम्बरको सूचीमा छ । टाटाले गत अक्टोबरमा ७ हजार ११६ युनिट इभी बिक्री गरेको छ । यो गत सेप्टेम्बरको तुलनामा भने ७.२७ प्रतिशत धेरै हो । अघिल्लो महिनामा कम्पनीका ६ हजार ६३४ युनिट इभी बिक्री भएको थियो । अक्टोबरमा टाटा मोटर्सले कुल ४०.०४ प्रतिशत बजार हिस्सा कायम गरेको छ । हालै बजारमा आएको हरियर ईभीले माग पुन: बढाउन सहयोग पुर्याएको कम्पनीको भनाइ छ । तर, कम्पनीका प्रमुख ईभी मोडेलहरू पञ्च, नेक्सनर कर्भ इभी नै बिक्रीको मुख्य हिस्सा बनेका कम्पनीले जनाएको छ ।
भारतीय इभी बजारमा जेएसडब्लु एमजी मोटरले आफूलाई दोस्रो स्थानमा उभ्याउन सफल भएको छ । अक्टोबर एभजीका ४ हजार ४९७ युनिट इभी बिक्री गरेको छ । यो गत सेप्टेम्बरको तुलनामा भने ८.१२ प्रतिशत धेरै हो । अघिल्ला महिनामा एमजीका ३ हजार १५९ युनिट बिक्री भएको थियो । एमजीले भारतको इभी बजारमा २५ प्रतिशतको हिस्सा ओगटेको छ । कम्पनीले विन्डसर ईभी र ब्याट्री–एज–ए–सर्भिस योजनामार्फत बजार हिस्सा बढाएको छ । एमजीले हालै एम९ एमपीभी र साइबरस्टर इलेक्ट्रिक रोडस्टर सार्वजनिक गर्दै प्रिमियम ईभी सेग्मेन्टमा प्रवेश गरेको छ । यी दुबै मोडेल कम्पनीको नयाँ एमजी सेलेक्ट नेटवर्क मार्फत बिक्री भइरहेका छन् ।
तेस्रो स्थानमा रहेको महिन्द्राले पनि एकै महिना ३ हजार ८५७ युनिट इभी बिक्री गरेको छ । यो गत सेप्टेम्बरको तुलनामा भने १०.५२ प्रतिशत धेरै हो । सेप्टेम्बरम महिन्द्राको ३ हजार ३९० युनिट बिक्री भएको थियो । हाल कम्पनीका दुई बोर्न इलेक्ट्रिक एसयूभि मोडेल बिई सिक्स र एक्सइभी ९ई ले बजारमा बलियो उपस्थिति जनाएका छन् । यो मोडेलसँगै एक्सयूभी ४०० समेत कम्पनीको इभि पोर्टफोलियोमा सामेल छन् । महिन्द्राले अक्टोबरमा कुल इभी बजारको २१.७० प्रतिशत हिस्सा ओगटेको छ ।
बिक्री आँकडा अनुसार किया चौंथो स्थानमा छ । कियाले अक्टोबरमा ६५५ युनिट, बिवाइडी इन्डियाले ५६० युनिट, हुन्डाईले ४३७, बिएमडब्लुले ३०३ र भिनफास्टले १३१ युनिट इभी बिक्री गरेको छ । यी ब्रान्डहरुले गत सप्टेम्बरमा ५२८, ५९५, ३६४, ३३३ र ६ युनिट इभी बेचेका थिए । यता, मर्जिडेज इभी ९० युनिट, सिट्रोन ५२ युनिट, टेस्ला ४० युनिट, भोल्बो २० युनिट बिक्री भएका छन् ।













