जेनजी आन्दोलनमा तोडफोड र आगजनी गर्ने ३७५ जना पक्राउ, १४१ मुद्दा दर्ता
काठमाडौं । जेनजी आन्दोलनका क्रममा तोडफोड, आगजनी र लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरीले देशभरबाट ३७५ जनालाई पक्राउ गरेको छ । गृहमन्त्रालयका अनुसार कात्तिक १७ गतेसम्म १४१ वटा मुद्दा दर्ता भएका छन् ।
सबैभन्दा धेरै काठमाडौँ उपत्यकाबाट २१८ जना पक्राउ परेका छन् । तीमध्ये ९६ मुद्दा दर्ता भएका छन् । उनीहरूविरुद्ध कर्तव्यज्यान, आपराधिक उपद्रव, हातहतियार खरखजना, चोरी र अभद्र व्यवहारजस्ता कसुरमा मुद्दा चलाइएको छ।
यस्तै कोशी प्रदेशमा ३० जना, मधेशमा २१ जना, बागमतीमा ३३ जना, गण्डकीमा ३२ जना, लुम्बिनीमा २९ जना, कर्णालीमा ४ जना र सुदूरपश्चिममा ८ जना पक्राउ परेका छन्।
प्रहरीले तोडफोड र आगजनीसँग सम्बन्धित ३६ हजारभन्दा बढी भिडियो र फोटो प्रमाण संकलन गरेको जनाएको छ। ती सामग्रीको विश्लेषण गरी संलग्न व्यक्तिहरूमाथि थप कानुनी कारबाही अघि बढाइने बताइएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि गत २३ र २४ भदौमा भएको आन्दोलनबाट भएको क्षतिबारे प्रहरीमा उजुरी दर्ता गरेको छ । सो आन्दोलनमा ७६ जनाको मृत्यु भएको र सिंहदरबार लगायतका सरकारी संरचनामा आगजनी भएको प्रहरीले जनाएको छ ।













