लाभांश पारित गर्न सिटिजन्स बैंकले बोलायो साधारणसभा
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले आगामी मंसिर १२ गते आफ्नो १९औं वार्षिक साधारणसभा बोलाएको छ। सभा काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्ड एण्ड बैंक्वेटमा बिहान ११ बजेबाट सुरु हुने बैंकले जनाएको छ।
साधारणसभाले बैंकले घोषणा गरेको ५ प्रतिशत बोनस शेयर (करीब ७३ करोड ८४ लाख रुपैयाँ) र ०.२६३ प्रतिशत नगद लाभांश (करीब ३ करोड ८९ लाख रुपैयाँ, करसहित) पारित गर्नेछ।
त्यसका साथै, गत आर्थिक वर्षको वित्तीय विवरण पारित गर्ने, चालू आवका लागि लेखापरीक्षक नियुक्त गरी उनको पारिश्रमिक निर्धारण गर्ने र सञ्चालक समिति पुनर्गठन गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ।
सञ्चालक समितिमा समूह ‘क’ का संस्थापक शेयरधनीतर्फबाट एक जना र समूह ‘ख’ का सर्वसाधारण शेयरधनीतर्फबाट तीन जना सञ्चालकको निर्वाचन हुनेछ।
यस्तै, बैंकको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्न तथा नियामक निकायबाट निर्देशन प्राप्त भएमा त्यसअनुसार आवश्यक परिवर्तन गर्ने अधिकार सञ्चालक समितिलाई दिने प्रस्ताव पनि सभाले पारित गर्नेछ।
साधारणसभा र लाभांश वितरण प्रयोजनका लागि बैंकले कात्तिक १७ गते बुक क्लोज गरेको छ। यस अनुसार, कात्तिक १६ गतेसम्म नेप्सेमा शेयरधनीको नाममा शेयर कायम भएका शेयरधनीहरू मात्र साधारणसभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन्।













