कार बिक्रीमा उछाल : सुजुकीले तोड्यो आफ्नै रेकर्ड, कुन ब्रान्डले कति बेचे ?
काठमाडौं । चाडपर्वको उज्यालोसँगै भारतीय अटो बजार पनि झिलिमिली बनेको छ । गत सेप्टेम्बरमा लागू भएको जीएसटी २.० ले कारको मूल्य घटाएपछि उपभोक्ताहरूको मन फेरि शोरूमतिर तानिएको छ । त्यसैमा दशैं–तिहार लगायत ठुला चाडपर्वको बोनस, छुट र नयाँ मोडलहरूको आकर्षण थपिँदा अक्टोबर महिनाले कार बिक्रीमा नयाँ इतिहास रचेको छ ।
लामो समयदेखि सुस्त देखिएको खुद्रा बजारमा फेरि मुस्कान फर्किएको छ । चाडपर्वको माहोलसँगै मागमा आएको तीव्र उछालले अटो उद्योगमा उत्साह फैलिएको छ । अधिकांश कम्पनीहरूले मासिक बिक्रीमा उल्लेखनीय सुधार देखाएका छन् ।
मारुती सुजुकीले नयाँ रेकर्ड कायम गर्दै बजारको नेतृत्व दोहोर्याएको छ । यता, टाटा मोटर्स, महिन्द्रा र हुन्डाईबीच दोस्रो स्थानको होड झनै रोचक बनेको देखिन्छ ।
मारुती सुजुकीले रेकर्डस्तरमा कार बिक्री गरेको छ । अक्टोबरमा सुजुकीले २ लाख ३८ हजार ९९१ युनिट कार बिक्री गरेको छ । सुजुकीले अक्टोबरमा आफ्नो इतिहासकै सबैभन्दा बढी बिक्री गरेको हो । कम्पनीले गत सेप्टेम्बरमा पनि १ लाख ३२ हजार ८२० युनिट बिक्री गरेको थियो । सुजुकीको कार बिक्रीदर एक वर्षमा १७.४ प्रतिशत वृद्धि भएको छ ।
यता, दोस्रो पोजिनमा भने टाटा, महिन्द्रा र हुन्डाईबीच कडा प्रतिस्पर्धा देखिन्छ । अक्टोबरमा टाटा मोटर्स दोस्रो स्थानमा उभिएको छ । एकै महिना ७३ हजार ८७९ युनिट कार बिक्री गरेको छ । टाटाले मुख्य नेक्सन र पञ्च धेरै बिक्री भएको जनाएको छ । विशेषगरि इभीको बिक्री दर नै उच्च रहेको जनाएको छ । टाटाको कार बिक्रीदर १२.७ प्रतिशत बढेको छ ।
तेस्रो स्थानमा रहेको महिन्द्राले एकै महिना ६७ हजार ४४२ युनिट कार बिक्री गरेको छ । यसको बिक्रीदर ग्रोथ भने ९.५८ प्रतिशत देखिन्छ ।
यता, चौंथो सूचीमा रहेको हुन्डाइले ६५ हजार ४९ युनिट गाडी बेचेको छ । हुन्डाईको क्रेटा, भेन्यू र नयाँ एक्स्टर मोडलहरूले स्थिर बिक्री कायम राखेका छन् । यद्यपि, वार्षिक ग्रोथ भने ७.४ प्रतिशत घटेको देखिन्छ ।
आँकडा अनुसार टोयोटाले अक्टोबरमा ३४ हजार ५४८ युनिट, किया ३२ हजार ७३८ युनिट, स्कोडा–फक्सवागन १२ हजार ५५ युनिट, होन्डा ७ हजार १६८, एमजीले ५ हजार ७५४, रेनल्ट ५ हजार ४१ र निशानले २ हजार ५४८ युनिट कार बिक्री गरेका छन् । टोयोटाले आफ्नो वार्षिक बिक्रीदर १४.२ प्रतिशत बढाएको छ ।
यता, कियाको ९.९ प्रतिशत, स्कोडाको ३४.३ प्रतिशत, रेनल्टको १२.६० प्रतिशत बढेको छ । निसानको ५.९० प्रतिशत, होन्डाको ३ प्रतिशत र एमजीको २.५ प्रतिशत गिरावट आएको छ ।













