फिलिपिन्समा कालमेगी आँधीको वितण्डा, ११४ जनाको मृत्यु, १२७ बेपत्ता
काठमाडौं । फिलिपिन्समा आएको विनासकारी आँधीमा परि ११४ जनाले ज्यान गुमाएका छन् ।
फिलिपिन्सको विपद् व्यवस्थापन एजेन्सीका अनुसार, हालसम्म टाइफून कालमेगी नामक शक्तिशाली आँधीमा हालसम्म ११४ जनाको मृत्यु भएको छ भने १२७ जना अझै बेपत्ता छन्।
मध्य फिलिपिन्समा यस वर्षकै शक्तिशाली आँधी आएको र आँधीका कारण लाखौं मानिस घर छाडेर पलायन हुन बाध्य भएका अधिकारीहरुले बताएका छन्।
राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरले देशभर राष्ट्रिय आपतकाल घोषणा गर्दै राहत तथा उद्धार कार्यलाई तीव्र बनाउन निर्देशन दिएका छन्।
उनले अर्को शक्तिशाली आँधी फुङ–वोङ (स्थानीय नाम ‘उवान’) पनि उत्तर फिलिपिन्सतर्फ आइरहेको चेतावनी दिएका छन्, जसलाई मौसम विज्ञहरूले “सुपर टाइफून” बन्न सक्ने बताएका छन्।
संयुक्त राज्यको ज्वाइन्ट टाइफून वार्निङ सेन्टरका अनुसार, कालमाएगीले पुनः शक्ति हासिल गर्दै अहिले भियतनामको मध्य भागतर्फ तीव्र गतिमा अघि बढिरहेको छ।
फिलिपिन्सका मध्य भागका आठ प्रान्तमा स्थलगत प्रवेश गरेको कालमेगीले घरहरू भत्काएको, सडक अवरुद्ध बनाएको र लाखौँ मानिस विस्थापित गरेको बताइन्छ। सबभन्दा बढी प्रभावित क्षेत्र सेबु प्रान्त रहेको छ, जहाँ हजारौँ परिवारले आफ्नो घर गुमाएका छन्।
यसैबीच, भियतनामका अधिकारीहरूले ३ लाख ५० हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सार्ने तयारी गरेका छन्। हजारौँ सैनिक उद्धार कार्यका लागि परिचालित गरिएको छ। देशका आठवटा विमानस्थलमा हवाई सेवा प्रभावित हुन सक्ने चेतावनी दिइएको छ ।
केन्द्रीय भियतनाममा भारी वर्षा र तीव्र हावाहुरीका कारण बाढी र पहिरोको जोखिम अझै बढेको छ भने यसले त्यहाँको मुख्य आर्थिक स्रोत मानिएको कफी खेतीमा पनि असर पार्न सक्ने अनुमान गरिएको छ।













