सबल बैंकको शीर्ष सूचीमा एभरेष्ट बैंक, लोभलाग्दो वित्तीय प्रगति
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले सन्तुलित वित्तीय विवरण प्रकाशन गरेको छ । बैंकको नाफा लगायतका मुख्य सूचकहरुमा स्थिर सुधार गरेको देखिन्छ ।
बैंकले शुक्रबार प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८२–८३ को पहिलो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।
चालु आवको तीन महिनामा बैंकले १ अर्ब १७ करोड ९२ लाख ७४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आवको सोही अवधिको तुलनामा भने ४.५७ प्रतिशत धेरै हो । गत आवको पहिलो तीन महिनामा बैंकले १ अब १२ करोड ७७ लाख ४० हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
यता, बैंकको संचालन नाफा पनि १ अर्ब ६८ करोड ५५ लाख रुपैयाँ कायम भएको छ । जबकि, गत आवको सोही अवधिमा यस्तो नाफा १ अर्ब ६१ करोड १६ लाख रहेको थियो ।
समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी पनि अर्ब १३ करोड ९० लाख रुपैयाँबाट बढेर २ अर्ब ४० करोड ३८ लाख रुपैयाँ कायम भएको छ । बैंकको खुद ब्याज आम्दानी र संचालन नाफा बढेसँगै खुद नाफा वृद्धिमा टेवा पुगेको हो ।
हाल बैंकको वितरणयोग्य नाफा ५ अर्ब ४९ करो ६० लाख रुपैयाँ छ । हाल बैंकको चुक्ता पुँजी १२ अर्ब ९४ करोड ४६ लाख रुपैयाँ छ । बैंकले जगेडा कोषमा भने १४ अर्ब ४१ करोड ८८ लाख रुपैयाँ राखेको छ ।
समिक्षा अवधिमा बैंकले ३ खर्ब १२ अर्ब ८९ करोड २ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ । कर्जा प्रवाह भने २ खर्ब २७ अर्ब ३४ करोड रुपैयाँ देखिन्छ ।
बैंकसँग हाल ०.७४ प्रतिशत खराब कर्जा छ । जुन वाणिज्य बैंकहरुमध्येकै न्यून हो । हाल बैंकको प्रतिसेयर आम्दानी (इपिएस) ३६.४४ रुपैयाँ र प्रतिसेयर नेटवर्थ ५५.६९ रुपैयाँ कायम भएको छ ।













