सडक ठेक्कामा अनियमितता, ठेकेदारसहित ८ जनामाथि भ्रष्टाचार मुद्दा
काठमाडौं । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकामा मोटरबाटो स्तरोन्नतिको ठेक्काप्रक्रियामा अनियमितता गरेको आरोपमा ठेकेदार कम्पनीसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खदाङ–ल्हाँ सडक स्तरोन्नतिको ठेक्का मिलेमतोमा दिई आर्थिक लाभ लिएको भन्दै सोमबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
मुद्दामा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लालप्रसाद पोखरेल, इन्जिनियर कर्णबहादुर कार्की, प्रशासकीय अधिकृत हिराचन्द्र धराला, शिक्षा अधिकृत भिमबहादुर थापा, वरिष्ठ लेखा सहायक रुपचन्द्र बुढा, एमआईएस अपरेटर हरिचन्द्र बिष्ट, मूल्याङ्कन समितिका सदस्य शिशिरकुमार गुरुङ र दिव्या निर्माण सेवा प्रालिका सञ्चालक भीमराज न्यौपाने सामेल छन् ।
अख्तियारका अनुसार बोलपत्र प्रक्रिया मिलेमतोमा गरी बढी रकम कबोल गर्ने कम्पनीलाई ठेक्का दिइएको थियो । ८३ लाख ८२ हजार रुपैयाँ लागत अनुमान गरिएको परियोजनामा करिब ५५ लाख ८९ हजार रुपैयाँ बराबरको आर्थिक बिगो देखिएको छ ।
अख्तियारले ती व्यक्तिमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद र जरिवानाको माग गर्दै आरोपपत्र दायर गरेको जनाएको छ ।













