१० श्रावण २०८३, आइतबार

स्टार्टअप कर्जाका लागि ६ सय बढी आवेदन



काठमाडौं । सरकारले स्टार्टअप उद्यमीलाई लक्षित गरी खलाएको कर्जा आवेदनमा अहिलेसम्म ६१० जनाले आफ्नो प्रस्ताव दर्ता गराएका छन् ।

सोमबारसम्म अनलाइनमार्फत ५९२ र प्रतिष्ठानमा प्रत्यक्ष उपस्थित भएर १८ जनाले आवेदन दर्ता गरेका हुन् । यससँगै करिब ९ हजार जनाले अनलाइन खाता खोलेर आवेदन दिनु तयारी गरेको मन्त्रालय अन्तर्गतको औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानका अनुसार स्टार्टअप कर्जा आवेदन मंसिर ९ गतेसम्म खुला रहनेछ । चालु आर्थिक वर्षमा ४०० नवप्रवर्तनशील उद्यमलाई कर्जा दिने लक्ष्यसहित प्रतिष्ठानले गत बुधबारदेखि आवेदन लिन सुरु गरेको हो ।

यसका लागि सरकारले ७३ करोड रुपैयाँ विनियोजन गरेको छ । ‘स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि २०८१’ अनुसार एक उद्यमीले अधिकतम २५ लाख रुपैयाँसम्म तीन प्रतिशत ब्याजदरमा कर्जा पाउन सक्नेछन्। कर्जा चरणगत रूपमा एकदेखि तीन किस्तासम्ममा प्रवाह गरिने कार्यविधिमा उल्लेख छ ।

स्टार्टअपको पात्रता अनुसार सात वर्षभन्दा बढी पुराना कम्पनी नहुने, चुक्ता पुँजी दुई लाखदेखि १० लाखसम्म, वार्षिक कारोबार दुई करोड रुपैयाँभन्दा कम र स्थिर पुँजी दुई करोडभन्दा नबढ्ने हुनुपर्नेछ ।

कर्जा कृषि, सूचना प्रविधि, पर्यटन, शिक्षा, स्वास्थ्य, नवीकरणीय ऊर्जा, फोहर व्यवस्थापन लगायत १६ क्षेत्रमा केन्द्रित हुने प्रतिष्ठानले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्