मेलम्ची पानी अवरोध अन्त्य, १५ बुँदे सहमति पश्चात् विवाद समाधान
काठमाडौं । मेलम्ची खोलाबाट काठमाडौंमा पानी आपूर्ति रोक्दै आएका स्थानीयले आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् । सरकार र मेलम्ची संघर्ष समितिबीच मंगलबार राति भएको वार्तामा १५ बुँदे सहमति भएपछि अवरोध हटाइएको हो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात, र शहरी विकासमन्त्री कुलमान घिसिङको उपस्थितिमा भौतिक पूर्वाधार मन्त्रालयमा राति करिब १० बजे समझदारीपत्रमा हस्ताक्षर गरिएको थियो ।
छलफलमा खानेपानी मन्त्रालयका सचिव प्रमिला देवी शाक्य बज्राचार्य, सम्बन्धित निकायका पदाधिकारी र स्थानीय प्रतिनिधिहरू सहभागी थिए । पाँच दिनदेखि रोकिएको मेलम्चीको पानी पथान्तरण अब पुन: सुरु हुने खानेपानी मन्त्रालयले जनाएको छ ।
















