९ श्रावण २०८३, शनिबार

नेतृत्व फेरिएसँगै लगानी नीति पनि बदल्दै एनआईसी एसिया



काठमाडौँ । वित्तीय हालतका आधारमा सबैभन्दा कमजोर वाणिज्य बैंक बनेको एनआईसी एसियाले अब फेरि आफ्नो लगानी ढाँचा बदल्ने भएको छ । केही वर्ष अघिमात्रै सबै खाले कर्पोरेट कर्जा दिन छाडेर खुद्रा बैंकिङ गरेको यो बैंक अफ फेरि कर्पोरेट र निर्माण क्षेत्रमा फर्कन लागेको हो ।

नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुजितकुमार शाक्यले अब कर्जा तथा लगानीको नीति बदल्न लागेको अर्थपथलाई बताएका छन् । उनले आफू ८ वर्षपछि बैंकमा फर्किएको भन्दै सबै विभागीय प्रमुखहरुलाई अब बैंकले रणनीति बदलेर जाने कुरा बताइसकेका छन् ।

विगतमा कोभीड महामारी पछि एनआईसी एसियाले सबै ठूला कर्जोरेटहरुलाई दिएको ऋण फिर्ता मागेको थियो । त्यसपछि यो बैंकले ब्यापक मात्रामा शाखा विस्तार गर्यो । पहिले पहिले विकास बैंकले जसरी नै यो बैंकले सानातिना कर्जा दियो ।

पर्याप्त धितो राखेर उपभोग र उत्पदन दुबैका निम्ति थोरै थोरै अर्थात् खुद्रा कर्जा दिन थाल्यो । राष्ट्र बैंकका तत्कालिन गभर्नर चिरञ्जीवी नेपालले विकास बैंकहरुको अस्तित्व नै नासिने गरी पूँजी बृद्धि योजना अघि सारिदिएपछि त्यो ठाउँ एनआईसीले परिपूरण गर्न खोजेको थियो ।

यस्तो रणनीतिमा एनआईसीले केही वर्ष अस्वाभाविक विस्तार गर्यो । अर्को कुनै वाणिज्य बैंकको कुल निक्षेप वा कुल कर्जा बराबरको व्यापार एनआईसीले हरेक साल थपिरहेको थियो । त्यसबेला प्रतिस्पर्धी बैंकहरु एनआईसीसँग तर्सिएका थिए । तर कोभिडपछि ब्यापक मात्रामा युवा पलायन बढ्न थाल्यो यसले समष्टिगत उपभोग नै खस्किने स्थिति आउँदा साना उद्यमी र व्यवसायीहरु टिक्न सकेनन् ।

अर्कातिर जग्गा र सेयर बजारजस्ता सट्टेबाजी बजारहरु पनि खुम्चिए । तराइमा मिटरब्याजको समस्याबाट तन्किएको लहरो लघुवित्त र सहकारीमा फैलियो । देशैभको मध्येमवर्ग ऋणको चपेटामा पर्यो । धितोको विक्री हुन सकेन । यस्ता कारणले कुनै बेला सबैभन्दा ‘उत्तम’ देखिएको एनआईसी एसियाको रणनीति अब भने ‘अनुचित’ देखिएको छ ।

यही कारण लामो समय उक्त बैंकको नेतृत्व गरेका रोशन न्यौपानेले जागिर छाड्नु पर्यो । अब नयाँ नेतृत्वमा नबिल बैंकको डेपुटी सीइओ रहेका आइपुगेका छन् । उनले भनेका छन्, ‘अब हामी कर्पोरेटमा पनि जाने हो र कन्स्ट्रक्सनमा पनि जाने हो ।’ यद्यपि अहिले निर्माण क्षेत्रमा प्रवाह भएको कर्जाले राम्रो प्रगति गर्न नसकेको बारेमा उनी सचेत छन् ।

एनआईसीले पहिले पनि कर्पोरेट क्षेत्रमा ठूलो ‘एक्सपोजर’ तयार पारेको थियो । तर कोभीडपछि नेपाली कर्पोरेट जगत मूलत: दुई खेमामा बाँडियो । त्यसको एक खेमा विशाल ग्रुप र आईएमई ग्रुपको नेतृत्वमा थियो ।

विशाल ग्रुपकै कम्पनी भएका कारण एनआईसीले व्यावसायिक जोखिम हुने भनेर बाँकी कर्पोरेटसँगको कारोबारलाई ‘प्रशोचन’ गर्ने नीति लिएको त्यस बेलाको नेतृत्वमा हुने बैंकरहरु बताउँछन् । शाक्य पनि त्यसबेलाको निर्णयको विरोध त गर्दैनन्, तर उनी सम्झाउँछन्, ‘ठूला कर्पोरेटमा यस्ता शक (धक्का) सहने क्षमता ज्यादा हुन्छ । उनीहरुसँग धेरैथरी कारोबार र धेरै कम्पनी पनि हुन्छन् । एउटाको व्यापार विग्रियो भने पनि अर्को कम्पनीको आम्दानी ल्याएर ऋण तिर्छन् ।’

तर धितोमात्रै भएका, नगद प्रवाह कम भएका वा विस्वसनीय नभएका साना ऋणीहरु थोरैमात्र अप्ठेरो पर्ने वित्तिकै समस्यामा पर्ने र कर्जा पनि डुब्ने संभावना बढी हुने शाक्यको बुझाइ छ । त्यही कारण अब उनी पुन: पुरानै ‘सन्तुलनकारी’ बाटोमा अग्रसर हुन खोजेका छन् ।

‘ठूला व्यवसायीहरु पहिले तिमीहरुले हामीलाई निकालेको हो भनिरहेका छन् । तुरुन्तै विस्वास जित्न गाह्रो छ’, उनी भन्छन्, ‘तर सुजित आएपछि विस्तारै सुधार हुँदैछ भन्ने सन्देश पुर्याउँछु र उनीहरुको विस्वास पुन: जित्ने छु ।’


प्रतिक्रिया दिनुहोस्