९ श्रावण २०८३, शनिबार

नेपाल भित्रदैछन् सुजुकी, टाटा र महिन्द्राको इलेक्ट्रिक एसयूभी, कुनको ब्याट्री क्षमता कति ? 



काठमाडौं । दक्षिण एशियाको अटो बजारमा इलेक्ट्रिक गाडीको क्रान्ति तीव्र गतिमा अघि बढीरहेको छ ।

यतिबेला भारतमा उत्पादन भएका तीन इलेक्ट्रिक एसयूभी मोडलहरु बजार आउने तयारीमा छन् । सुजुकी, टाटा र महिन्द्राका नयाँ इलेक्ट्रिक एसयूभी मोडलहरू बजारमा आउन लागेका हुन् ।

यी तीनवटै कम्पनीले भारतमा बिक्री सुरू गरेलगत्तै आफ्ना मोडलहरू नेपालमा पठाउने छन् । केही महिनाभित्रै नेपाली सडकमा ती मोडेलहरु देखिने सम्भावना बलियो बनेको छ । यी एसयूभीहरूले नेपाली ईभी बजारमा नयाँ प्रतिस्पर्धा र प्रविधिको स्तर उकास्ने अपेक्षा समेत गरिएको छ ।

सुजुकीको ई–भिटारा : भारतको पहिलो इलेक्ट्रीक एसयूभी

भारतीय बजारको सबैभन्दा ठूलो अटो निर्माता मारुति सुजुकीले आफ्नो पहिलो इलेक्ट्रिक एसयूभी ई–भिटारा आगामी डिसेम्बर २ तारिखमा लन्च गर्ने तयारी गरेको छ ।

गुजरातस्थित कारखानामा निर्माण भइरहेको यो मोडल हाल युरोप निर्यातका लागि उत्पादन चरणमा पुगेको छ । भारतमा बिक्री सुरू भएपछि केही महिनाभित्रै नेपालमा पनि यसको आगमन हुने अपेक्षा गरिएको छ ।

ई–भिटारा दुई ब्याट्री विकल्पमा आउनेछ । कम्पनीका अनुसार ४९ किलोवाट–आवर र ६१ किलोवाट–आवरको ब्याट्री रहनेछ । कम्पनीले यसको रेञ्ज करिब ५०० किलोमिटरसम्म हुने दाबी गरेको छ । एसयूभी सेग्मेन्टमा यस मोडलले बलियो प्रभाव पार्ने अनुमान समेत गरिएको छ । यद्यपि, मूल्यका कारण नेपालमा प्रतिस्पर्धा तीव्र हुने बताइन्छ ।

टाटाको सियरा ईभी : पुरानो नाम, नयाँ प्रविधि

टाटा मोटर्सले आफ्नो चर्चित पुरानो मोडल सियरालाई नयाँ स्वरूपमा पुनर्जीवित गर्दैछ । कम्पनीले यस मोडलको पेट्रोल संस्करण नोभेम्बर २५ तारिखमा सार्वजनिक गर्दैछ । तर, त्यसको इलेक्ट्रिक संस्करण सियारा इभी पनि तयारी अवस्थामा रहेको जनाएको छ ।

नयाँ सियरा ईभीको डिजाइन पुरानो सियरा जस्तै बक्सी डिजाजइनमा आउनेछन् । आकर्षक एलईडी लाइटिङ र विशाल ग्लासहाउससहित हुने कम्पनीले जनाएको छ । यसमा ५५ र ६५ किलोवाट आवरका दुई ब्याट्री विकल्प रहने अनुमान गरिएको छ ।

भारतमा सियरा ईभीको बिक्री सन् २०२५ को मध्यतिर सुरू हुने सम्भावना छ । तर, नेपालमा टाटाको ईभी बजार पहिल्यै बलियो भएकाले सियरा ईभीले पनि राम्रो व्यापार गर्ने अपेक्षा गरिएको छ ।

महिन्द्राको एक्सईभी ९एस : सात सिट क्षमताको पहिलो इलेक्ट्रिक एसयूभी

महिन्द्राले आफ्नो नयाँ इलेक्ट्रिक मोडल एक्सईभी ९एस यसै महिना अर्थात् नोभेम्बरको अन्त्यतिर भारतमा सार्वजनिक गर्दैछ ।

कम्पनीले नोभेम्बर २७ तारिखमा सार्वजनिक गर्ने भएको हो । यसको व्यावसायिक बिक्री सन् २०२६ जनवरीबाट सुरू हुने सम्भावना छ ।

महिन्द्राको नयाँ इनग्लो प्लेटफर्ममा निर्मित एक्सईभी ९एस सात सिट क्षमताको ठूलो एसयूभी हो । जुन कम्पनीको लोकप्रिय मोडल एक्सयूभी ७०० को इलेक्ट्रिक संस्करण जस्तै देखिने अनुमान गरिएको छ ।

फिचरको दृष्टिले यो मोडल एक्सईभी ९ ई सँग मिल्दोजुल्दो रहने अपेक्षा गरिएको छ । कम्पनीले विस्तृत विवरण नखोले पनि यसमा ५९ र ७५ किलोवाट–आवर क्षमताका दुई ब्याट्री अप्सन र एडास लेभल टु प्रणाली रहने बताइएको छ ।

यी तीनवटै मोडल भारतमा उत्पादन भएर केही महिनाभित्रै नेपाल आउने बलियो सम्भावना छ । यसले नेपाली ईभी बजारमा नयाँ प्रतिस्पर्धा र विकल्पहरूको दौड सुरु हुने देखिन्छ ।

नेपालमा टाटाको नेक्सन, एमजी जेडएस, हुन्डाईको कोना र बिवाइडीका मोडलहरूले ईभी बजारलाई स्थिरता दिएका छन् । अब सुजुकी, महिन्द्रा र टाटाको नयाँ लाइनअपले उक्त बजारमा उच्च प्रविधि, लामो रेञ्ज र आकर्षक डिजाइनको प्रतिस्पर्धा ल्याउने अनुमान गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्