ब्राजिलमा जारी कोप ३० जलवायु सम्मेलनमा एकाएक कसरी लाग्याे आगाे ?
काठमाडौं । संयुक्त राष्ट्र संघको जलवायु सम्मेलन कोप ३० चलिरहेको स्थलमा आगलागी भएको छ । ब्राजिलको बेलें शहरमा जलवायु सम्मेलन स्थलभित्र एकाएक आगो लागेको हो ।
आगलागी भएपछि तत्काल उक्त स्थल खालि गराइएको थियो । संयुक्त राष्ट्रसंघले आगो छ मिनेटमै निभाइएको र १३ जनालाई धुवाँको असरका कारण उपचार गरिएको जनाएको छ।
आगो लाग्नुको कारण अझै स्पष्ट भएको छैन भने विद्युत सटसर्किट हुँदा आगोलागेको अनुमान गरीएको छ ।
पाभिलियन क्षेत्रमा ज्वाला र धुवाँ देखेका थिए, जहाँ दमकलका गाडीहरू द्रुतगतिमा गुडिरहेको बिभिन्न भिडियोहरूमा देख्न सकिन्छ ।
जलवायु परिवर्तन रोकथामका आगामी कदमहरूमा सहमति जुटाउने अन्तिम चरणमा रहेका छलफलहरू आगलागीका कारण अवरुद्ध भएका छन् र छलफल स्थगित गरिएको छ।
कोप सम्मेलन सञ्चालन गर्ने संयुक्त राष्ट्रसंघले दमकल विभागले स्थलको सुरक्षा मूल्यांकन गरिरहेको र सम्मेलन अस्थायी रूपमा ब्राजिलीयन अधिकारीहरूले नियन्त्रणमा लिएको जनाएको छ।
हजारौँ मानिसहरू संयुक्त राष्ट्रको यस जलवायु सम्मेलनमा सहभागी छन्, जसमा विश्वका विभिन्न देशका प्रतिनिधिमण्डलहरू समावेश छन्।
करिब २०० देश जलवायु परिवर्तन सामना कसरी गर्ने भन्नेमा सहमति जुटाउने प्रयासमा छन्।
संयुक्त राष्ट्रसंघको जलवायु परिवर्तन फ्रेमवर्क सम्मेलन (यूएनएफसीसीसी) अन्तर्गतको वार्षिक कोप ३० जलवायु सम्मेलन १० देखि २१ नोभेम्बरसम्म सञ्चालन हुने गर्छ ।













