१ लाख कित्तासम्म भर्न पाइने एक कम्पनीको आइपीओ आजदेखि बिक्री खुला
काठमाडौं । सोलु हाइड्रोपावर लिमिटेडले आज अर्थात् मंसिर ७ गतेदेखि आईपीओ निष्काशन गरेको छ ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो ।
कम्पनीले जारी पूँजी १० अर्ब रुपैयाँको २० प्रतिशत अर्थात २ अर्ब रुपैयाँ बराबरको २ करोड कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो । जसमध्ये १ अर्ब रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका १ करोड कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो ।
सोमध्ये आयोजना अति प्रभावित क्षेत्र सोलु दूधकुण्ड नगरपालिकाको वडा नं ७, ११ र थुलुङ दूधकोशी गाउँपालिकाको वडा नं.१ को स्थानिय बासिन्दाहरुका लागि ४० प्रतिशत अर्थात ४० लाख कित्ता तथा सोलु दूधकुण्ड नगरपालिका र थुलुङ दूधकोशी गाउँपालिकाको अति प्रभावित वडा बाहेक अन्य वडामा बस्ने स्थानिय बासिन्दाहरुलाई ६० प्रतिशत अर्थात ६० लाख कित्ता बाँडफाँट गरिनेछ ।
यसका साथै सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको सेयरको १० प्रतिशतले हुन आउने १० करोड रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका १० लाख कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरेको छ ।
कम्पनीको आईपीओमा न्यूनतम १० कित्ताका लागि र अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ ।
आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन बन्द छिटोमा मंसिर २१ गते हुनेछ भने ढिलोमा पुस ७ गते हुनेछ। यता, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन बन्द छिटोमा मंसिर १० गते हुनेछ भने ढिलोमा मंसिर २१ गते हुनेछ।













