श्रीलंकामा भिषण बाढी-पहिरो : ५६ जनाको मृत्यु, २१ वेपत्ता, ४४ हजारभन्दा बढी नागरिक प्रभावित
काठमाडाैं । श्रीलंकामा, भारी वर्षाका कारण आएको बाढी र पहिरोमा परि कम्तिमा ५६ जनाकाे मृत्यु भएकाे छ भने २१ जना वेपत्ता छन्। देशमा पछिल्ला वर्षहरूमा देखिएको सबैभन्दा भीषण मौसमजन्य विपदामध्ये यो एक मानिएको छ।
दैवी प्रकोप व्यवस्थापन केन्द्रका अनुसार केन्द्रीय बडुल्ला जिल्लामा रातारात आएको विशाल पहिरोले घरैपुरै बगाउँदा २१ जनाले ज्यान गुमाएका छन्। सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोहरूमा बाढीका पानीले बस्तीका घरहरू बगाइरहेको र सहरभरि अव्यवस्था सिर्जना भएको देखिन्छ। देशभर अधिकांश रेल सेवा रोकिएका छन्।
शुक्रबार पूर्वी तटतर्फ सरिरहेको चक्रवात डिट्वाहका कारण थप खराब मौसम आउने अनुमान गरिएको छ। गहिरो वायुचाप बनेर शुरू भएको डिट्वाह अहिले चक्रवातमा रूपान्तरित भइसकेको छ र भारतमा अवतरण गर्ने पूर्वानुमान गरिएको छ।
श्रीलंकामा प्रमुख नदीहरूको पानीको सतह निरन्तर बढ्दै गएको छ। दैवी प्रकोप व्यवस्थापन केन्द्रले तल्लो बस्तीका स्थानीयलाई सुरक्षित स्थानतर्फ सर्न आग्रह गरेको छ। सिँचाइ विभागले आगामी ४८ घण्टा भित्र केलानी नदी आसपासका तल्लो क्षेत्रका लागि रातो सतर्कता जारी गरेको छ। जोखिम क्षेत्रमध्ये राजधानी कोलम्बो पनि पर्दछ।
मौसम विभागका अनुसार शुक्रबार केन्द्रीय तथा उत्तरी क्षेत्रका केही स्थानमा २०० मिमीभन्दा बढी वर्षा हुने सम्भावना छ। उच्च वर्षाका कारण कतिपय प्रमुख सडकहरू बन्द गरिएका छन् भने रेल विभागले शुक्रबार बिहान ६ बजेबाट अत्यावश्यकबाहेक सबै रेल सेवा स्थगित गरेको छ।
अहिलेसम्म करिब ४४ हजारभन्दा बढी नागरिक प्रभावित बनेका छन्। राहत तथा उद्धारका लागि करिब २० हजार ५०० सेना परिचालन गरिएको दैवी प्रकोप व्यवस्थापन केन्द्रले जनाएको छ। जारी अतिवृष्टिका कारण सञ्चालन भइरहेका ए–लेभल परीक्षा पनि स्थगित गरिएको छ।
श्रीलंका हाल मनसुनको समयमा भए पनि यस स्तरको चरम वर्षा र बाढी कमै देखा पर्ने गरेको बताइन्छ। सन् २००३ को जुन महिनामा आएको बाढी पछिल्लो शताब्दीको सबैभन्दा विनाशकारी मानिन्छ, जसमा २५४ जनाको मृत्यु भएको थियो र लाखौँ विस्थापित भएका थिए।













