लगातार दाेस्राे दिन पनि बढ्याे नेप्से, काराेबारमा भने आएन सुधार
काठमाडौं । लगातार दोस्रो कारोबार दिन पनि सेयर बजारमा सुधार देखिएको छ । आइतबार दोहोरो अंकले घटेको नेप्से सोमबार र मंगलबार दुई दिन बढेको छ ।
आज सेयर बजार मापक नेप्से परिसूचक १८.३७ अंकले बढेर २६ सय १९ दशमलव ९९ बिन्दुमा रोकिएको छ ।
नेप्से परिसूच बढे पनि आज कारोबार रकम भने घटेको छ । आज ३२५ कम्पनीको ७७ लाख ९६ हजार ५५२ कित्ता सेयर ३ अर्ब २९ करोड ४२ लाख २७ हजारमा कारोबार भएको छ ।
हिजो ३२९ कम्पनीको ७७ लाख ५७ हजार ६२५ कित्ता सेयर ३ अर्ब ४४ करोड १९ लाख ३ हजारमा कारोबार भएको थियो ।
आज व्यापार समुह बाहेक सबै समुहकाे सेयर बढेकाे छ । यसदिन विकास बैंक १.५६, हाेटल तथा पर्यटन १.४९ र अन्य समुहकाे सेयर १.१५ प्रतिशत बढेकाे छ ।
आज १८७ कम्पनीको सेयर मूल्य बढेको छ भने ६१ कम्पनीको घटेको छ । यस्तै ११ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । यसदिन स्वस्तिक लघुवित्त, नारायणी विकास बेंक र एसवाई प्यानल नेपालको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।



















