७ श्रावण २०८३, बिहिबार

नेपाल विश्वविद्यालयको पहिलो शैक्षिक कार्यक्रम सुरु



काठमाडौँ । गुणस्तरीय शिक्षा र व्यवहारिक सीपमार्फत आर्थिक–सामाजिक रूपान्तरणमा सक्षम तथा प्रतिबद्ध जनशक्ति तयार गर्ने उद्देश्यले स्थापित नेपाल विश्वविद्यालयले आफ्नो पहिलो शैक्षिक कार्यक्रमका रूपमा ‘मास्टर अफ पब्लिक पोलिसि’ मा भर्ना खुला गरेको छ।

राज्यका निकाय, निजी क्षेत्र, अन्तर्राष्ट्रिय संस्था तथा अन्य गैर–सरकारी क्षेत्रलाई आवश्यक सार्वजनिक नीतिमा सक्षम र प्रतिस्पर्धी जनशक्ति तयार गर्नु यस कार्यक्रमको मुख्य लक्ष्य हो। विषयवस्तुको गहिरो ज्ञान, विश्लेषणात्मक दक्षता र नीति निर्माणका व्यवहारिक सीपलाई समेटेर यो दुई वर्षे पूर्णकालीन शैक्षिक कार्यक्रम तयार गरिएको छ।

ख्यातिप्राप्त विदेशी विश्वविद्यालयका प्राज्ञ तथा सार्वजनिक नीति क्षेत्रका विभिन्न सरोकारवाला संस्थाका प्रतिनिधिहरूको सहभागितामा यस कार्यक्रमको पाठ्यक्रम विकास गरिएको हो। विद्यार्थी–केन्द्रित पठन–पाठन पद्धति र अन्य प्राज्ञिक तथा बौद्धिक गतिविधिहरूमार्फत सार्वजनिक नीति क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका बौद्धिक नेतृत्व तयार हुने अपेक्षा गरिएको छ।

यो कार्यक्रम नेपाल विश्वविद्यालयको पहिलो शैक्षिक कार्यक्रम भएकाले पहिलो ब्याचका लागि उल्लेख्य संख्यामा छात्रवृत्तिको व्यवस्था पनि गरिएको छ।

गुणस्तरीय शिक्षाको आधारमा पेशागत विकासको चाहना राख्ने विद्यार्थी तथा यस क्षेत्रमा आफ्नो दक्षता अभिवृद्धि गर्न चाहने पेशाकर्मीहरूले २०८२ माघ ८ सम्म भर्नाका लागि आवेदन दिन सक्नेछन्।


प्रतिक्रिया दिनुहोस्