८ श्रावण २०८३, शुक्रबार

फोर्डका चर्चित मोडलहरूमा आगलागीको जाेखिम, बजारबाट फिर्ता बाेलायाे ३ लाख गाडी



काठमाडौं। विश्वचर्चित अमेरिकी अटो निर्माता कम्पनी फोर्डले उत्तर अमेरिकाभर आफ्ना ३ लाखभन्दा बढी सवारी साधनहरू फिर्ता (रिकल) बोलाउने घोषणा गरेको छ। इन्जिनमा रहेको एक प्राविधिक त्रुटिका कारण गाडीमा आगलागी हुन सक्ने जोखिम देखिएपछि कम्पनीले यस्तो कदम चालेको हो।

अमेरिकी संघीय नियामक निकाय नेशनल हाइवे ट्राफिक सेफ्टी एडमिनिस्ट्रेशन (एनएचटीएसए) का अनुसार अमेरिकामा मात्रै १ लाख १९ हजार सवारी साधनहरू यसबाट प्रत्यक्ष प्रभावित छन्। यो समस्या विशेषगरी फोर्डका चर्चित मोडलहरू एक्सप्लोरर, फोकस र एस्केपमा देखिएको छ।

के हो मुख्य प्राविधिक समस्या?

यो समस्या सवारीको ‘इन्जिन ब्लक हिटर’ सँग सम्बन्धित छ। विशेषगरी जाडो ठाउँमा इन्जिनलाई तताउन प्रयोग गरिने यो हिटरको एलिमेन्टमा समयसँगै दरार आउन सक्ने र त्यसबाट ‘कुलान्ट’ चुहिन सक्ने देखिएको छ। जब गाडीको हिटरलाई बाह्य विद्युत स्रोतमा प्लग गरिन्छ, उक्त चुहावटले गर्दा सर्ट-सर्किट भई आगलागी हुने खतरा रहन्छ।

आगलागीको यो जोखिम गाडी चलाइरहेको बेला नभई, पार्किङ गरेर हिटर प्लगमा जोडेको अवस्थामा मात्र हुने फोर्डले स्पष्ट पारेको छ। डिसेम्बर ३ सम्मको रिपोर्टअनुसार ‘फोर्ड एस्केप’ मोडलका कम्तीमा १२ वटा गाडीमा यही कारणले आगलागी भइसकेको उजुरी परेको छ, यद्यपि यसबाट कसैको ज्यान भने गएको छैन।

कुन कुन माेडलमा छ समस्या ?

फोर्डले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार यस फिर्ता प्रक्रियामा सन् २०१३ देखि २०२४ सम्म उत्पादन भएका विभिन्न लोकप्रिय मोडलहरू समावेश गरिएका छन्।

कम्पनीका अनुसार सन् २०१९ र २०२४ मा उत्पादन भएका फोर्ड एक्सप्लोरर र सन् २०१३ देखि २०१८ सम्मका फोर्ड फोकस मोडलहरूमा यो जोखिम देखिएको छ।

त्यसैगरी, २.० लिटर इन्जिन क्षमता भएका सन् २०१३ देखि २०१९ सम्मका फोर्ड एस्केप र सन् २०१५ देखि २०१६ सम्म उत्पादन भएका लिंकन एमकेसी मोडलका सवारी साधनहरू पनि यो प्राविधिक समस्याबाट प्रभावित भएका छन्।

फोर्डले आगामी फेब्रुअरी ९ देखि प्रभावित ग्राहकहरूलाई औपचारिक पत्र पठाउने तयारी गरेको छ। तर, ग्राहकहरूले कम्पनीको आधिकारिक वेबसाइट वा एनएचटीएसएको पोर्टलमा गएर आफ्नो गाडीको १७ अंकको भेहिकल आइडेन्टिफिकेसन नम्बर प्रविष्ट गरी आफ्नो गाडी जोखिममा छ कि छैन भनेर तत्कालै जाँच गर्न सक्नेछन्।

गाडीमा कुलान्ट चुहिएको दाग देखिएमा, क्याबिनभित्र तातो हावा नआएमा, इन्जिन ‘ओभरहिट’ भएको संकेत आएमा वा जलेको गन्ध आएमा तुरुन्त सतर्क रहन सुझाव दिइएको छ।

निःशुल्क मर्मत र वैकल्पिक उपाय

फोर्डले हाल नयाँ डिजाइनको हिटर एलिमेन्ट विकास गरिरहेको छ। पार्ट्स उपलब्ध हुनासाथ कम्पनीका आधिकारिक डिलरहरूले यी पार्ट्स निःशुल्क परिवर्तन गरिदिनेछन्। मर्मत नहुन्जेलसम्मका लागि कम्पनीले आफ्ना ग्राहकलाई ‘हिटर प्लग’ प्रयोग नगर्न निर्देशन दिएको छ।

यदि कसैलाई हिटरको आवश्यकता छैन भने, डिलरले उक्त हिटर प्रणालीलाई नै पूर्ण रूपमा हटाइदिने विकल्प पनि दिएको छ। पछि नयाँ पार्ट्स उपलब्ध भएपछि त्यसलाई पुनः जडान गर्न सकिनेछ।


प्रतिक्रिया दिनुहोस्