आजदेखि सर्वसाधारणका लागि रिज लाइन इनर्जीको आईपीओ बिक्रि खुला
काठमाडौं। रिज लाइन इनर्जी लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गर्दैछ।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि शेयर बाँडफाँट गरिसकेपछि अब दोस्रो चरणमा सर्वसाधारणका लागि बिक्री सुरु गर्न लागेको हो।
कम्पनीले आफ्नो कुल जारी पूँजी १ अर्ब १८ करोड ५० लाख रुपैयाँको २२ प्रतिशतले हुन आउने २६ लाख ७ हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। सोमध्ये ११ लाख ८५ हजार कित्ता स्थानीय बासिन्दा र १ लाख ४२ हजार २०० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि यसअघि नै छुट्याइएको थियो।
यस पटक सर्वसाधारणका लागि कुल ११ लाख ८० हजार २६० कित्ता साधारण शेयर निष्काशन गरिएको छ। कम्पनीले कुल कित्तामध्ये २८ हजार ४४० कित्ता कर्मचारीहरूका लागि र ७१ हजार १०० कित्ता सामूहिक लगानी कोषहरूका लागि सुरक्षित गरी बाँकी रहेको शेयर सर्वसाधारणमा ल्याएको हो। इच्छुक लगानीकर्ताले प्रतिशेयर १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।
लगानीकर्ताले यस आईपीओमा छिटोमा फागुन ४ गतेसम्म र सो अवधिमा माग बमोजिम आवेदन नपरेमा ढिलोमा फागुन १३ गतेसम्म आवेदन दिन पाउनेछन्।













