सर्वसाधारणका लागि आजदेखि खुल्यो सुपर खुदी हाइड्रोपावरको आईपीओ
काठमाडौं । सुपर खुदी हाइड्रोपावर लिमिटेडले आज मंगलबारदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ।
यसअघि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि शेयर बाँडफाँट गरिसकेपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि यो प्रक्रिया सुरु गरेको हो।
कम्पनीले आफ्नो कुल जारी पूँजी १ अर्ब ५५ करोड रुपैयाँको २० प्रतिशत अर्थात् ३१ करोड रुपैयाँ बराबरको ३१ लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। सोमध्ये १५ लाख ५० हजार कित्ता स्थानीयका लागि, १ लाख ५५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि र ७७ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि छुट्ट्याएर बाँडफाँट भइसकेको छ।
अबको चरणमा कम्पनीले आफ्ना कर्मचारीहरूका लागि ३१ हजार कित्ता सुरक्षित गरी बाँकी रहेको १२ लाख ८६ हजार ५०० कित्ता साधारण शेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको हो। १०० रुपैयाँ अंकित मूल्य रहेको यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।
यस निष्काशनमा आवेदन दिने म्याद छिटोमा फागुन ११ गतेसम्म तोकिएको छ भने सो अवधिमा पूर्ण आवेदन नपरेको खण्डमा ढिलोमा फागुन २० गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ।













