एशियन लाइफ र नेको इन्स्योरेन्सको साधारणसभा, लगानीकर्ताले पाउँदैछन् लाभांश
काठमाडौं । नेपाली बीमा बजारका दुई स्थापित कम्पनीहरू एशियन लाइफ इन्स्योरेन्स र नेको इन्स्योरेन्सले आज फागुन ११ गते सोमबार आफ्नो वार्षिक साधारणसभा आयोजना गर्दैछन् । यी दुवै कम्पनीका शेयरधनीहरूका लागि आजको दिन विशेष छ, किनकि सभाले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित लाभांशलाई औपचारिक रूपमा पारित गर्दैछ।
एशियन लाइफको १८औं साधारणसभा: ५ प्रतिशत बोनस शेयरको प्रस्ताव जीवन बीमा व्यवसायमा सक्रिय एशियन लाइफ इन्स्योरेन्सले आफ्नो १८औं वार्षिक साधारणसभा बाराको सिमरास्थित होटल क्लासिकमा दिउँसो १ बजेबाट सुरु गर्दैछ । यस सभाको मुख्य एजेन्डा सञ्चालक समितिले प्रस्ताव गरेको ५ प्रतिशत बोनस शेयर र ५.५२६३ प्रतिशत नगद लाभांश (कर प्रयोजन समेत) वितरणको प्रस्ताव पारित गर्नु रहेको छ ।
बोनस शेयर वितरणपछि कम्पनीको जारी तथा चुक्ता पूँजीमा हुने वृद्धिलाई स्वीकृति दिने र प्रबन्धपत्र तथा नियमावलीमा समयानुकूल संशोधन गर्ने प्रस्तावमा पनि छलफल हुनेछ । यसका साथै, सभाले गत आर्थिक वर्षको वित्तीय विवरणहरू पारित गर्दै नयाँ आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति समेत गर्नेछ ।
नेको इन्स्योरेन्सको ३०औं साधारणसभा: नगद लाभांशमा जोड निर्जीवन बीमा क्षेत्रको पुरानो कम्पनी नेको इन्स्योरेन्सले आफ्नो ३०औं साधारणसभा काठमाडौंको नक्सालस्थित लिसारा रिसेप्सनमा बिहान ११ बजेबाट सुरु गर्दैछ । कम्पनीले आफ्ना शेयरधनीहरूलाई ३ प्रतिशत बोनस शेयर र १२.७८९४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव सभामा पेश गरेको छ ।
सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, र नाफा–नोक्सान हिसाब जस्ता वित्तीय विवरणहरूमाथि छलफल गरी पारित गर्नेछ । साथै, नियामक निकायको निर्देशन बमोजिम कम्पनीको प्रबन्धपत्र र नियमावलीमा परिमार्जन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाको कार्यसूचीमा रहेको छ ।
को–को हुन् त लाभांशका हकदार? साधारणसभा र लाभांश प्रयोजनका लागि दुवै कम्पनीले यसअघि नै ’बूक क्लोज’ गरिसकेका छन्। एशियन लाइफको हकमा माघ २८ गतेसम्म र नेको इन्स्योरेन्सको हकमा माघ २४ गतेसम्म नेप्सेमा शेयर कारोबार भई कायम रहेका शेयरधनीहरूले मात्र आजको सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।













