इरानसँग नेपालको व्यापार र युद्धको प्रभाव: अर्थतन्त्रको मेरुदण्ड मानिने वैदेशिक रोजगारी र रेमिट्यान्समा संकटको बादल - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

इरानसँग नेपालको व्यापार र युद्धको प्रभाव: अर्थतन्त्रको मेरुदण्ड मानिने वैदेशिक रोजगारी र रेमिट्यान्समा संकटको बादल



काठमाडौं । नेपाल र इरानबीचको व्यापार न्युन छ। इरानबाट मुख्यतया बिटुमिन र औद्योगिक कच्चा पदार्थ जस्ता सामग्री आयात हुन्छन् भने निर्यात नगन्य छ।

भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो सात महिना (साउन–माघ) को वैदेशिक व्यापार तथ्याङ्क अनुसार इरान र नेपालबीचको व्यापारिक सम्बन्ध आयातमुखी देखिएको छ।

यस अवधिमा नेपालले इरानबाट कुल ७३ लाख ५६ हजार रुपैयाँ बराबरका विभिन्न वस्तुहरू आयात गरेको भन्सार विभागको तथ्याङ्क छ। आयातको तुलनामा निर्यातको हिस्सा भने निकै सानो देखिएको छ।

समीक्षा अवधिमा नेपालले इरानतर्फ मात्र ६ लाख ६५ हजार रुपैयाँ बराबरका नेपाली उत्पादनहरू निर्यात गर्न सफल भएको छ। यस तथ्याङ्क अनुसार इरानसँगको व्यापारमा नेपालले ६६ लाख ९१ हजार रुपैयाँ व्यापार घाटा व्यहोरेको छ।

इरानबाट मुख्यतया औद्योगिक कच्चा पदार्थ र केही विशिष्ट खाद्य सामग्रीहरू आयात हुने गरेका छन् भने नेपालबाट कृषिजन्य वा हस्तकलाका केही सामग्रीहरू निर्यात हुने गरेका छन्।

यता शनिबारदेखि सुरु भएको इरान-अमेरिका-इजरायल युद्धको नयाँ शृङ्खलाले नेपालको प्रत्यक्ष वैदेशिक व्यापारमा तत्काल ठूलो असर भने पार्ने देखिँदैन।

तर, युद्धको रापले इरान र समग्र मध्यपूर्वमा रहेका नेपालीहरूको सुरक्षा र राेजगारीमाथि भने प्रश्नचिह्न खडा गरिदिएको छ। इरानमा नेपालीको संख्या तुलनात्मक रूपमा कम भए पनि त्यहाँ रहेका नेपालीहरू सुरक्षाका दृष्टिले कसरी प्रभावित हुन्छन् भन्ने चासो बढेको छ।

इरान मात्र नभएर समग्र मध्यपूर्व नै युद्धग्रस्त बन्दा नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिएको वैदेशिक रोजगारी र रेमिट्यान्समा प्रत्यक्ष असर पर्ने निश्चित छ। खाडी मुलुकहरूमा कार्यरत लाखौँ नेपाली कामदारहरूको रोजगारी सुरक्षा, नयाँ श्रम स्वीकृति र त्यहाँबाट हुने आपूर्ति शृङ्खलामा आउने अवरोधले नेपालको अर्थतन्त्रलाई दीर्घकालीन रूपमा प्रभावित तुल्याउन सक्छ।

यदि युद्ध अझै चर्किएमा नेपाली श्रमिकहरूको सुरक्षा र फिर्ती प्रक्रिया सरकारका लागि ठूलो चुनाैति बन्न सक्छ ।


प्रतिक्रिया दिनुहोस्