८ महिनामा आयात १२ र निर्यात २० प्रतिशतले बढ्यो, व्यापार घाटा कति ? - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

८ महिनामा आयात १२ र निर्यात २० प्रतिशतले बढ्यो, व्यापार घाटा कति ?



काठमाडौं । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो आठ महिना (साउन–फागुन) को तथ्याङ्कअनुसार नेपालको वैदेशिक व्यापारमा आयात र निर्यात दुवैमा वृद्धि देखिएको छ ।

यस अवधिमा आयात १२.५४ प्रतिशतले बढ्दा निर्यातमा २०.८३ प्रतिशतको उत्साहजनक सुधार देखिएको छ । यद्यपि, आयातको अंक ठूलो हुँदा व्यापार घाटा भने ११.२२ प्रतिशतले बढेर झण्डै ११ खर्ब पुगेको छ ।

भन्सार विभागको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०८१/८२ को पहिलो आठ महिनामा ११ खर्ब ४५ अर्ब ५६ करोड रुपैयाँ बराबरको वस्तु आयात भएकोमा चालु आर्थिक वर्षको सोही अवधिमा १२ खर्ब ८९ अर्ब २५ करोड रुपैयाँ पुगेको छ ।

त्यस्तै, निर्याततर्फ पनि सुधार देखिएको छ । गत वर्ष १ खर्ब ५८ अर्ब १७ करोडको निर्यात भएकोमा यस वर्ष २०.८३ प्रतिशतले बढेर १ खर्ब ९१ अर्ब ११ करोड रुपैयाँ पुगेको छ । आयात र निर्यात दुवै बढ्दा कुल वैदेशिक व्यापार १३.५५ प्रतिशतले वृद्धि भई १४ खर्ब ८० अर्ब ३६ करोड रुपैयाँ बराबरको पुगेको छ ।

निर्यातमा भएको २० प्रतिशतको वृद्धिले वैदेशिक व्यापारमा केही राहत दिए पनि व्यापार घाटाको आकार भने अझै बढ्दो छ । तथ्याङ्क अनुसार यस वर्षको ८ महिनामा नेपालले १० खर्ब ९८ अर्ब १३ करोड रुपैयाँ व्यापार घाटा व्यहोरेको छ । जुन गत वर्षको तुलनामा ११.२२ प्रतिशतले बढी हो ।

वैदेशिक व्यापारको संरचनामा केही सकारात्मक परिवर्तनहरू देखिएका छन् । जसमा कुल व्यापारमा निर्यातको हिस्सा १२.१३ प्रतिशतबाट बढेर १२.९१ प्रतिशत पुगेको छ भने कुल व्यापारमा आयातको हिस्सा ८७.८७ प्रतिशतबाट घटेर ८७.०९ प्रतिशतमा खुम्चिएको छ ।

गत वर्ष १ रुपैयाँको निर्यात गर्दा ७.२४ रुपैयाँको आयात हुने गरेकोमा यस वर्ष सुधार भएर ६.७५ रुपैयाँमा झरेको छ । यसले निर्यातको क्षमता विस्तार हुँदै गएको संकेत गर्दछ ।

अन्तर्राष्ट्रिय प्रभाव र चुनौती

नेपालको वैदेशिक व्यापारको यो चित्र विश्व परिवेशबाट अछुतो छैन । पछिल्लो समय मध्यपूर्वमा देखिएको इरान र इजरायलबीचको तनाव तथा विभिन्न क्षेत्रमा अमेरिकी संलग्नता भएका युद्धका कारण विश्व आपूर्ति श्रृंखलामा असर परिरहेको छ । यस्ता अन्तर्राष्ट्रिय द्वन्द्वले इन्धनको मूल्य र ढुवानी लागत बढाउँदा नेपाल जस्ता आयातमुखी मुलुकको आयात खर्चमा वृद्धि गराउन भूमिका खेलेको देखिन्छ ।

युद्ध र विश्वव्यापी आर्थिक अस्थिरताका बाबजुद नेपालको निर्यात २० प्रतिशतले बढ्नुलाई सकारात्मक मानिए पनि आयातको तुलनामा निर्यातको आयतन निकै कम छ । ११ खर्बको व्यापार घाटा कम गर्न आगामी दिनमा आन्तरिक उत्पादन र निर्यात प्रवद्र्धनमा अझै ठूलो मेहनत गर्नुपर्ने तथ्याङ्कले देखाउँछ ।

भन्सार विभागको यो तथ्याङ्कले नेपालको वैदेशिक व्यापार विस्तार भइरहेको देखाए पनि व्यापार असन्तुलन अझै मुख्य चुनौतीको रूपमा रहेको पुष्टि गर्दछ ।


प्रतिक्रिया दिनुहोस्