आयात–निर्यात गर्ने भन्सारमा विरगञ्जकै वर्चस्व, टप १० को अवस्था कस्तो ? - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

आयात–निर्यात गर्ने भन्सारमा विरगञ्जकै वर्चस्व, टप १० को अवस्था कस्तो ?



काठमाडौं । नेपालको वैदेशिक व्यापारको चालु आर्थिक वर्ष २०८२–८३ को ८ महिनाको अवस्थालाई हेर्दा आयात र निर्यात दुवैमा केही सिमित भन्सार नाकाहरूको मात्रै ठूलो हिस्सा रहेको छ ।

भन्सार विभागको तथ्यांक अनुसार मुलुकको समग्र व्यापारमा वीरगञ्ज भन्सार कार्यालय सबैभन्दा शक्तिशाली नाकाको रूपमा उभिएको छ । आयात तर्फको कुरा गर्दा यस नाकाले कूल आयातको करिब ४६.१९ प्रतिशत हिस्सा ओगटेको छ भने निर्याततर्फ पनि यसले ३४.७९ प्रतिशतको ठूलो हिस्सा ओगटेर पहिलो स्थानमै रहेको छ ।

यसले के देखाउँछ भने नेपालको अन्तर्राष्ट्रिय व्यापारको मेरुदण्डको रूपमा वीरगञ्ज नाका नै रहेको छ । वीरगञ्ज पछि भैरहवा, विराटनगर र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारले पनि आयात–निर्यातमा महत्वपूर्ण योगदान पुर्‍याएका छन् ।

यी मुख्य चार नाकाहरूले मात्रै नेपालको व्यापारको ठूलो हिस्सा नियन्त्रण गर्दछन् । अन्य नाकाहरू जस्तै नेपालगञ्ज, मेची र तातोपानीको हिस्सा तुलनात्मक रूपमा कम भए तापनि ती नाकाहरू आ–आफ्नो क्षेत्रका लागि महत्वपूर्ण प्रवेशद्वार हुन् ।

निर्याततर्फको तथ्यांकले केही भन्सारहरूमा उत्पादन र निकासीको सम्भावना अझै बढ्दै गएको संकेत गर्दछ । यद्यपि आयातको तुलनामा निर्यातको आकार निकै सानो रहेको देखिन्छ ।

आयातको विस्तृत विवरण हेर्ने हो भने ८ महिनाको अवधिमा वीरगञ्ज भन्सारबाट मात्रै ५ खर्ब ९५ अर्ब ४५ करोड ९६ लाख ८० हजार रुपैयाँ बराबरको वस्तु आयात भएको छ । यो रकम कूल आयातको ४६.१९ प्रतिशत हो । जसले वीरगञ्जको व्यापारिक वर्चस्वलाई पुष्टि गर्दछ ।

आयातको दोस्रो सूचीमा रहेको भैरहवा भन्सार कार्यालयबाट सोही अवधिमा १ खर्ब ८९ अर्ब ६६ करोड ५७ लाख १५ हजार रुपैयाँ बराबरको आयात भएको छ । जसको हिस्सा १४.७१ प्रतिशत रहेको छ ।

यसैगरी, विराटनगर भन्सारले १२.०३ प्रतिशत हिस्सा ओगट्दै १ खर्ब ५५ अर्ब १० करोड ४० लाख ६१ हजार रुपैयाँ बराबरको वस्तु भित्र्याएको छ । हवाई मार्गबाट हुने आयातलाई हेर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट १ खर्ब ४३ अर्ब ७७ करोड १८ लाख ३९ हजार रुपैयाँ बराबरको आयात भएको छ, जुन कूल आयातको ११.१५ प्रतिशत हो ।

तराईको अर्को महत्वपूर्ण नाका नेपालगञ्ज भन्सारबाट ५१ अर्ब ४ करोड ७१ लाख ६९ हजार रुपैयाँ अर्थात् ३.९६ प्रतिशत आयात भएको देखिन्छ । पूर्वको मेची भन्सारबाट ३४ अर्ब ६४ करोड ८३ लाख ४१ हजार रुपैयाँ (२.६९ प्रतिशत) र चीनसँगको व्यापारिक नाका तातोपानीबाट २८ अर्ब ७८ करोड ५१ लाख २० हजार रुपैयाँ (२.२३ प्रतिशत) बराबरको आयात भएको छ ।

यस्तै कृष्णनगर भन्सारबाट १७ अर्ब १५ करोड ४४ लाख ४९ हजार रुपैयाँ (१.३३ प्रतिशत), कैलाली भन्सारबाट १६ अर्ब ६२ करोड १३ लाख ३६ हजार रुपैयाँ (१.२९ प्रतिशत) र रसुवा भन्सारबाट १६ अर्ब ४९ करोड ३० लाख ८ हजार रुपैयाँ (१.२८ प्रतिशत) बराबरको मालसामान नेपाल भित्रिएको तथ्यांकले देखाउँछ ।

निर्यातको क्षेत्रमा पनि वीरगञ्ज भन्सार नै सबैभन्दा अगाडि देखिएको छ । तथ्यांक अनुसार यस नाकाबाट ८ महिनामा ६६ अर्ब ४९ करोड ४६ लाख ८१ हजार रुपैयाँ बराबरको वस्तु विदेश निकासी भएको छ । जसले कूल निर्यातको ३४.७९ प्रतिशत हिस्सा ओगट्छ ।

निर्यातको दोस्रो महत्वपूर्ण केन्द्रको रूपमा विराटनगर भन्सार रहेको छ । जहाँबाट ५४ अर्ब ७३ करोड ६३ लाख २० हजार रुपैयाँ बराबरको निर्यात भएको छ । जुन कूल निकासीको २८.६४ प्रतिशत हो ।

तेस्रो स्थानमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट २३ अर्ब ८० करोड १२ लाख ४५ हजार रुपैयाँ अर्थात् १२.४५ प्रतिशत निर्यात भएको देखिन्छ ।

आयातमा दोस्रो स्थानमा रहेको भैरहवा भन्सार निर्यातमा भने १०.९६ प्रतिशत हिस्साका साथ चौथो स्थानमा छ । जहाँबाट २० अर्ब ९५ करोड २६ हजार रुपैयाँ बराबरको निर्यात भएको छ । मेची भन्सारबाट १७ अर्ब ७९ करोड ९९ हजार रुपैयाँ (९.३१ प्रतिशत) को निर्यात हुँदा मधेश प्रदेशकै जलेश्वर भन्सारबाट २ अर्ब ५७ करोड ७६ लाख २२ हजार रुपैयाँ (१.३५ प्रतिशत) बराबरको निकासी भएको छ ।

नेपालगञ्ज भन्सारबाट १ अर्ब ९३ करोड ३३ लाख २८ हजार रुपैयाँ (१.०१ प्रतिशत), कृष्णनगर भन्सारबाट १ अर्ब १४ करोड २१ लाख ८ हजार रुपैयाँ (०.६० प्रतिशत), कैलाली भन्सारबाट ७५ करोड ९९ लाख ६९ हजार रुपैयाँ (०.४० प्रतिशत) र रसुवा भन्सारबाट ३० करोड ७ लाख १९ हजार रुपैयाँ (०.१६ प्रतिशत) बराबरको निर्यात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।

रोचक कुरा के छ भने तातोपानी नाका आयातको टप १० सूचीमा भए पनि निर्यातको टप १० मा पर्न सकेन । जसको स्थान जलेश्वर भन्सारले लिएको छ ।

यसरी हेर्दा नेपालको व्यापार केही सिमित नाकाहरूमा मात्र केन्द्रित रहेको र निर्यातको आकार आयातको तुलनामा अझै पनि निकै न्यून रहेको प्रष्ट हुन्छ ।


प्रतिक्रिया दिनुहोस्