सर्वसाधारण लगानीकर्ताका लागि खुल्याे एपोलो हाइड्रोपावरकाे आईपीओ
काठमाडौँ । एपोलो हाइड्रोपावर लिमिटेडले आज चैत २६ गतेदेखि सर्वसाधारण लगानीकर्ताहरूका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुल्ला गरेको छ।
यसअघि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि शेयर बाँडफाँट गरिसकेको कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आवेदन माग गरेको हो।
कम्पनीले आफ्नो कुल ५७ करोड रुपैयाँ जारी पूँजीको ३० प्रतिशत अर्थात् १४ करोड १० लाख रुपैयाँ बराबरको १४ लाख १० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये आयोजना प्रभावितका लागि ४ लाख ७० हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ९४ हजार कित्ता शेयर यसअघि नै वितरण भइसकेको छ। साथै, सामूहिक लगानी कोषलाई ३७ हजार कित्ता र कर्मचारीहरूलाई १८ हजार ८०० कित्ता शेयर समेत छुट्याएर बाँडफाँट गरिसकिएको छ।
अहिले दोस्रो चरणमा कम्पनीले बाँकी रहेको ७ करोड ८० लाख २० हजार रुपैयाँ बराबरको ७ लाख ८० हजार २०० कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो। इच्छुक लगानीकर्ताले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा न्यूनतम १० कित्तादेखि अधिकतम ९४ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।
यो निष्काशन प्रक्रिया छिटोमा चैत ३० गते बन्द हुनेछ भने पर्याप्त आवेदन नपरेको खण्डमा ढिलोमा २०८३ वैशाख १० गतेसम्म लम्बिने कम्पनीले जनाएको छ।













