चैतसम्म १० खर्ब ५९ अर्ब बजेट खर्च, लक्ष्यको ६० प्रतिशत पनि पुगेन राजस्व संकलन
काठमाडौँ । सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को ९ महिना (चैत मसान्त) सम्म १० खर्ब ५९ अर्ब ९५ करोड रुपैयाँ बजेट खर्च गरेको छ।
महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्क अनुसार यो कुल वार्षिक बजेट लक्ष्यको ५३.९७ प्रतिशत प्रगति हो। यस आर्थिक वर्षमा सरकारले १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ खर्च गर्ने लक्ष्य लिएको छ।
तथ्याङ्क अनुसार सरकारको आम्दानी र खर्चको सन्तुलन नमिल्दा अर्थ मन्त्रालय दबाबमा देखिएको छ। चैत मसान्तसम्म सरकारको कुल प्राप्ति ९ खर्ब ७ अर्ब १७ करोड रुपैयाँ मात्र रहेको छ, जबकि खर्च १० खर्ब ५९ अर्ब नाघिसकेको छ। यसले सरकारको आम्दानी र खर्चबीच झन्डै १ खर्ब ५२ अर्ब ७८ करोड रुपैयाँको खाडल देखाएको छ।
सरकारले ९ महिनाको अवधिमा चालु प्रकृतिको बजेट खर्च ७ खर्ब ४७ अर्ब ५२ करोड रुपैयाँ गरेको छ। यो विनियोजित लक्ष्यको ६३.३ प्रतिशत हो। यद्यपि, विकास निर्माणसँग जोडिने पूँजीगत (विकास) खर्चको अवस्था भने निकै निराशाजनक देखिएको छ। चैत मसान्तसम्म कुल ४ खर्ब ७ अर्ब ८८ करोडको लक्ष्यमध्ये ९६ अर्ब १९ करोड रुपैयाँ मात्र खर्च भएको छ, जुन विनियोजनको २३.५८ प्रतिशत मात्र हो।
त्यसैगरी, वित्तीय व्यवस्थातर्फ २ खर्ब १६ अर्ब २३ करोड रुपैयाँ खर्च भएको छ। यो वार्षिक लक्ष्यको ५७.६३ प्रतिशत प्रगति हो।
लक्ष्यको ६० प्रतिशत पनि पुगेन राजस्व संकलन
राजस्व संकलनमा पनि सरकारले लक्ष्य भेट्टाउन निकै कसरत गर्नुपर्ने देखिएको छ। चैत मसान्तसम्म कुल ८ खर्ब ८६ अर्ब २८ करोड रुपैयाँ राजस्व संकलन भएको छ। यो वार्षिक लक्ष्य १४ खर्ब ८० अर्बको ५९.८८ प्रतिशत मात्र हो।
संकलित राजस्वमध्ये कर राजस्व ७ खर्ब ९८ अर्ब ७७ करोड र गैर-कर राजस्व ८७ अर्ब ५१ करोड रुपैयाँ रहेको छ। सरकारले अनुदानतर्फ १ खर्ब ५६ अर्ब १४ करोड प्राप्त गरेको छ, जुन लक्ष्यको जम्मा २९.२१ प्रतिशत हो। बाँकी तीन महिनामा लक्ष्य भेटाउन सरकारले विकास खर्च र राजस्व संकलन दुवैमा ठूलो फड्को मार्नुपर्ने दबाब सृजना भएको छ।













