सर्वसाधारणका लागि साढे १७ कराेड रूपैयाँ बराबरकाे आईपीओ ल्याउँदै याम्बालिङ्ग हाइड्रोपावर
काठमाडाैं । बैशाख १६ गतेदेखि याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ निष्काशन गर्ने भएको छ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारणका लागि आईपीओ ल्याउन लागेको छ।
दोस्रो चरणमा कम्पनपीले १७ करोड ४३ लाख रुपैयाँबराबरको १७ लाख ४३ हजार कित्ता साधारण शेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गर्न लागेको हो।
सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा २१ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। निष्काशन बन्द छिटोमा बैशाख २२ गते हुनेछ भने ढिलोमा बैशाख ३० गते हुनेछ।
यसअघि कम्पनीले जारी पूँजी ७० करोड रुपैयाँको ४० प्रतिशत अर्थात २८ करोड रुपैयाँ बराबरको २८ लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये ७ लाख कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि र २ लाख १० हजार कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ।
त्यस्तै, कम्पनीले सामूहिक लगानी कोषहरुका लागि १ लाख ५ हजार कित्ता र कर्मचारीहरुका लागि ४२ हजार कित्ता शेयर निष्काशन गरी बाँडफाँट गरिसकेको छ।













