अर्थमन्त्रालयको श्वेतपत्र: डिजिटल अर्थतन्त्र र गौरवका आयोजनामार्फत आर्थिक समृद्धि खोज्दै सरकार (पूर्णपाठ) - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

अर्थमन्त्रालयको श्वेतपत्र: डिजिटल अर्थतन्त्र र गौरवका आयोजनामार्फत आर्थिक समृद्धि खोज्दै सरकार (पूर्णपाठ)



काठमाडौं । अर्थमन्त्रालयले नेपालको वर्तमान आर्थिक स्थितिपत्र (श्वेतपत्र) सार्वजनिक गर्दै आगामी पाँचदेखि सात वर्षभित्र नेपालको अर्थतन्त्रमा आमूल परिवर्तन गर्ने लक्ष्य अघि सारेको छ।

सरकारले आगामी आर्थिक वर्षदेखि औसत ७ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने र सोही अवधिमा प्रतिव्यक्ति आय ३ हजार अमेरिकी डलर पुर्‍याउने मार्गचित्र तयार गरेको छ।

यस्तै, मुलुकको कुल अर्थतन्त्रको आकार (जीडीपी) लाई सय अर्ब अमेरिकी डलर नजिक पुर्‍याई नेपाललाई सम्मानजनक मध्यम आय भएको मुलुक बनाउने आधारहरू श्वेतपत्रमा प्रस्तुत गरिएको छ।

आर्थिक रूपान्तरणको प्रमुख संवाहकका रूपमा ऊर्जा क्षेत्रलाई लिइएको छ। सरकारले आगामी ५ वर्षभित्र विद्युतको कुल जडित क्षमता १५ हजार मेगावाट पुर्‍याउने लक्ष्य राखेको छ।

यसका साथै, राष्ट्रिय गौरवका आयोजनाहरू आगामी दुई वर्षभित्र सम्पन्न गर्ने र रणनीतिक महत्त्वका नयाँ आयोजनाहरू विकास गरी निजी लगानी आकर्षित गर्ने सरकारको योजना छ। पूर्वाधार विकासमा हुने यो तीव्रताले समग्र आर्थिक वृद्धिलाई गति दिने अपेक्षा गरिएको छ।

श्वेतपत्रले कृषिको आधुनिकीकरण र व्यवसायीकरणलाई विशेष जोड दिएको छ। कृषिलाई उद्योग र पर्यटनसँग दरिलो गरी जोड्दै उत्पादनमूलक रोजगारी सिर्जना गर्ने रणनीति सरकारको छ। पर्यटन क्षेत्रमा गुणस्तरीय पूर्वाधारको विकास र पर्यटकीय सेवामा सहजता ल्याएर आय र रोजगारी वृद्धि गर्ने लक्ष्य राखिएको छ। यसले ग्रामीण अर्थतन्त्रलाई राष्ट्रिय मूलधारमा जोड्न मद्दत पुग्ने विश्वास लिइएको छ।

आधुनिक प्रविधिको प्रयोगलाई जोड दिँदै सरकारले डिजिटल अर्थतन्त्र निर्माणको परिकल्पना गरेको छ। कृत्रिम बौद्धिकता (आई) सहितको सूचना प्रविधिको उच्चतम उपयोग गरी उत्पादन र उत्पादकत्व बढाउने योजना श्वेतपत्रमा उल्लेख छ। प्रविधिको माध्यमबाट रोजगारी सिर्जना गर्ने र सेवा तथा सफ्टवेयर निर्यातमा वृद्धि गरी विदेशी मुद्रा आर्जन गर्ने सरकारको रणनीतिक सोच रहेको छ।


प्रतिक्रिया दिनुहोस्