आईपीओ निष्काशन गर्दै नीभ कर्पोरेशन, बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल नियुक्त - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

आईपीओ निष्काशन गर्दै नीभ कर्पोरेशन, बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल नियुक्त



काठमाडाैं । नीभ कर्पोरेशन लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्कासन गर्ने प्रक्रिया अघि बढाएको छ।

कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका २५ लाख कित्ता शेयर सार्वजनिक निष्कासन गर्नका लागि ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको हो।

यस सम्बन्धमा २०८३ वैशाख २३ गते बुधबार ग्लोबल आइएमई क्यापिटलको नक्सालस्थित केन्द्रीय कार्यालयमा आयोजित एक विशेष कार्यक्रमका बीच द्विपक्षीय सम्झौता भएको छ। सम्झौता पत्रमा नीभ कर्पोरेशनका अध्यक्ष यज्ञमुर्ति न्यौपाने र ग्लोबल आइएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत मन्दिप लुईटेलले हस्ताक्षर गरे।

नेपालको कृषि तथा पर्यटन क्षेत्रमा आधुनिक, दिगो तथा स्थानीय पहिचानमा आधारित व्यवसाय सञ्चालन गर्ने उद्देश्यसहित वि.सं. २०७६ सालमा स्थापना भएको यस कम्पनीको केन्द्रीय कार्यालय तुलसीपुर, दाङमा रहेको छ भने सम्पर्क कार्यालय सोल्टीमोड, काठमाडौंमा रहेको छ ।

कम्पनीले हाल दाङ, नेपालगञ्ज तथा सुर्खेत आदि क्षेत्रमा स्थानीय संस्कृति, स्वाद, भेषभूषा तथा परिवेशलाई समेटेर होटल तथा पर्यटन व्यवसाय सञ्चालन गर्दै आएको छ ।

कम्पनीले आतिथ्यता, कृषि र पर्यटनलाई समेट्ने एकीकृत अवधारणा सहित पूर्वको इलाम देखि कर्णालीसम्म र सुदुरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रहरु सहित गरी देशका २० भन्दा बढी स्थानमा आफ्नो व्यवसाय विस्तार गर्ने लक्ष्य अघि सारेको छ ।

स्थानीय स्रोत–साधन, सम्भाव्यता, भौगोलिक विविधता तथा प्राकृतिक सौन्दर्यलाई केन्द्रमा राखेर कम्पनीले मुख्य रुपमा होटल तथा पर्यटन, आधुनिक कृषि र दिगो विकासका क्षेत्रमा कार्य गरिरहेको छ । होटल तथा पर्यटन क्षेत्र अन्तर्गत कम्पनीले स्थानीय मौलिकता, संस्कृतिको जगेर्ना र प्रवद्र्घन, आतिथ्य सत्कार तथा परम्परागत स्वादको संरक्षण र प्रवद्र्घन मार्फत आन्तरिक तथा ब्राह्य पर्यटनलाई प्रोत्साहन गर्ने लक्ष्य राखेको छ ।

त्यस्तै कृषि क्षेत्रमा आधुनिक प्रविधिको प्रयोग गरी गुणस्तरीय कृषि उपज उत्पादन, भण्डारन, प्रशोधन तथा बजारीकरणका साथै कृषि पर्यटनको विकासमा जोड दिएको छ ।

दिगो तथा हरित विकासलाई प्राथमितामा राख्दै कम्पनीले शून्य कार्बन उत्सर्जन तथा कार्बन फुटप्रिन्ट न्यूनिकरणमार्फत वातावरणमैत्री व्यवसायिक अभ्यासलाई प्रवद्र्वन गर्ने उद्देश्य लिएको छ । स्थानीय उत्पादन, स्थानीय रोजगारी तथा स्थानीय संस्कृतिको संरक्षण मार्फत दीर्घकालीन आर्थिक तथा सामाजिक योगदान पुर्याउने लक्ष्य कम्पनीको रहेको छ ।

यस कम्पनीमा कृषि विज्ञ, पर्यटन विज्ञ ख्याति प्राप्त व्यवसायी, युवा उद्यमी, चार्टर्ड एकाउन्टेण्ट तथा अन्य विभिन्न पेशामा संलग्न प्रतिष्ठित व्यक्तिहरू रहेका छन्।


प्रतिक्रिया दिनुहोस्