आज बालेन सरकारको पहिलो बजेट आँउदै, अर्थमन्त्री स्वर्णीम वाग्लेले ४ वजे सार्वजनिक गर्ने
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को नेतृत्वमा गठित सरकारको पहिलो ऐतिहासिक बजेट आज (शुक्रबार) संघीय संसद्मा प्रस्तुत हुँदैछ ।
आगामी आर्थिक वर्ष २०८३/८४ का लागि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अपराह्न ४ बजे बस्ने प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा यस बजेटको विस्तृत विवरण सार्वजनिक गर्ने कार्यक्रम तय भएको छ ।
नयाँ संविधान जारी भएयता हरेक वर्ष जेठ १५ गते बजेट ल्याउने परम्पराअनुसार यसपटक पनि गणतन्त्र दिवसकै अवसर पारेर सिंहदरबारको बहुउद्देश्यीय हलबाट नयाँ बजेट घोषणा गरिँदैछ ।
गत फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनमा झण्डै दुई तिहाइ बहुमत प्राप्त गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सम्मिलित वर्तमान सरकारको यो पहिलो पूर्ण बजेट हो ।
निर्वाचनका क्रममा पार्टीले नागरिकसामु राखेको वाचापत्र, सरकार गठनपछि सार्वजनिक गरिएको १०० बुँदे शासकीय सुधारको कार्ययोजना र सदनमा प्रस्तुत विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्तहरूलाई बजेट निर्माणको मुख्य जग मानिएको छ । यसपटकको बजेटमा सांसदहरूका रचनात्मक सुझाव र सुशासनको मार्गचित्रलाई विशेष प्राथमिकता दिइएको अर्थ मन्त्रालयले जनाएको छ ।
आगामी आर्थिक वर्षका लागि राष्ट्रिय योजना आयोगले १८ खर्ब ९० अर्ब रुपैयाँ बराबरको बजेट सिलिङ निर्धारण गरेको थियो । तर, देशको चौतर्फी विकास र जनअपेक्षा सम्बोधन गर्न यसको आकारमा केही हेरफेर हुन सक्ने बताइएको छ ।
चालु आर्थिक वर्षमा सुरुमा १९ खर्ब ६४ अर्ब रुपैयाँ बराबरको बजेट ल्याइएको भए पनि राजनीतिक आन्दोलनपछि गठित तत्कालीन सरकारका अर्थमन्त्री रामेश्वर खनालले मध्यावधि समीक्षामार्फत बजेटको आकार १६ खर्ब ८८ अर्ब रुपैयाँमा झारेका थिए ।
सुशासन, पारदर्शिता र परिणाममुखी विकासलाई केन्द्रमा राख्दै देशको अर्थतन्त्रलाई नयाँ दिशा दिन यसपटकको बजेट महत्वपूर्ण कोसेढुङ्गा सावित हुने अपेक्षा गरिएको छ ।













