लञ्ज भएकाे पहिलो हप्तामै ३० हजार अर्डर: यस वर्षकै ‘हिट’ ईभी बन्ने दाैडमा बीवाईडीको नयाँ ‘युआन प्लस’
काठमाडाैं । चिनियाँ विद्युतीय सवारीसाधन निर्माता कम्पनी बीवाईडीको नयाँ इलेक्ट्रिक एसयूभी ‘युआन प्लस’ ले बजारमा सार्वजनिक भएको पहिलो हप्तामै आक्रामक व्यापार गरेको छ।
अन्तर्राष्ट्रिय बजारमा ‘एटो ३’ नामले अत्यधिक लोकप्रिय रहेको यस गाडीको थर्ड जेनेरेशन मोडल सार्वजनिक भएको एक हप्ताभित्रै ३० हजारभन्दा बढी बुकिङ (अर्डर) प्राप्त भएको कम्पनीले जनाएको छ।
बीवाइडीको ‘डायनास्टी सेरिज’ का महाप्रबन्धक लु तियानका अनुसार यो नयाँ मोडल गत मार्च २१ मा चिनियाँ बजारमा औपचारिक रूपमा सार्वजनिक गरिएको थियो। बजारमा आउनासाथ यसले ग्राहकहरूको निकै ठूलो साथ पाएको छ।
चीनमा यसको सुरुवाती मूल्य १ लाख १९ हजार ९०० युआन (करिब १७ हजार ६०० अमेरिकी डलर) तोकिएको छ, जुन पुरानो मोडलको तुलनामा सामान्य महँगो भए पनि यसमा थपिएका अत्याधुनिक विशेषताका कारण यो ग्राहकको रोजाइमा परेको हो।
यो नयाँ इलेक्ट्रिक एसयूभीमा बीवाइडीको सबैभन्दा नयाँ ‘ब्लेड ब्याट्री २.०’ र ‘फ्ल्याश चार्जिङ’ प्रविधि प्रयोग गरिएको छ। यो गाडी ५७.५ किलोवाट आवर र ६८.५ किलोवाट आवरका दुई ब्याट्री विकल्पमा उपलब्ध छ। जसले एक पटकको फुल चार्जमा क्रमशः ५४० किलोमिटर र ६३० किलोमिटरसम्मको उत्कृष्ट रेन्ज दिने दाबी कम्पनीको छ।
यस गाडीको सबैभन्दा बलियो पक्ष यसको ‘अल्ट्रा-फास्ट’ चार्जिङ क्षमता हो। बीवाइडीको नयाँ फ्ल्याश चार्जिङ प्रविधिले गर्दा यो गाडी मात्र ५ मिनेटमा १० प्रतिशतबाट ७० प्रतिशतसम्म चार्ज हुन सक्छ। त्यस्तै, १० प्रतिशतबाट ९७ प्रतिशत फुल चार्ज हुन जम्मा ९ मिनेट मात्र लाग्छ।
अत्यधिक चिसो अर्थात् माइनस ३० डिग्री सेल्सियसको तापक्रममा समेत यो ब्याट्री मात्र १२ मिनेटमा २० प्रतिशतबाट ९७ प्रतिशतसम्म चार्ज हुने क्षमता राख्दछ।
प्रविधि र सुरक्षाका हिसाबले पनि यो गाडी निकै अगाडि छ। गाडीको पछाडि जडान गरिएको इलेक्ट्रिक मोटरले २६८ हर्सपावर (एचपी) देखि ३२१ हर्सपावरसम्मको शक्ति पैदा गर्छ। ग्राहकहरूले अतिरिक्त शुल्क तिरेर यसमा बीवाइडीको उन्नत ‘डि-पाइलट ३००’ एडास प्रणाली जडान गर्न सक्छन्, जसमा छतमा ‘लिडार’ सेन्सरका साथै ३० वटा अत्याधुनिक क्यामरा र सेन्सरहरू रहेका छन्। यसले राजमार्ग र सहरी क्षेत्रमा ‘असिस्टेड ड्राइभिङ’ तथा ‘अटोमेटेड पार्किङ’ लाई सहज बनाउँछ।
गाडीको भित्री डिजाइन (इन्टेरियर) लाई पूर्ण रूपमा नयाँ लुक्स दिइएको छ। यसको ड्यासबोर्डको केन्द्रमा १५.६ इन्चको ठूलो फ्लोटिङ इन्फोटेनमेन्ट स्क्रिन राखिएको छ। कम मूल्यमै प्रिमियम फिचर्स दिने उद्देश्यका साथ यसमा गाडीभित्रै रेफ्रिजरेटर (फ्रिज), हेड-अप डिस्प्ले, एआई भ्वाइस असिस्टेन्ट र सुत्न मिल्ने (रिक्लाइनिङ) सिटहरू जस्ता सुविधाहरू समावेश गरिएका छन्।
पछिल्लो समय ‘जिली ग्यालेक्सी ई५’ जस्ता प्रतिस्पर्धी गाडीहरू बजारमा आउँदा कम्प्याक्ट एसयूभी बजारमा प्रतिस्पर्धा निकै बढेको छ। यद्यपि, बीवाइडीले आफ्नो नयाँ ब्याट्री र द्रुत चार्जिङ प्रविधिका कारण बजारमा आफ्नो वर्चस्व कायम राख्न सफल भइरहेको छ।
कम्पनीले यो नयाँ प्रविधिलाई युरोप, बेलायत र अन्य विश्वव्यापी बजारहरूमा पनि लैजाने तयारी गरिरहेको छ, जसको सुरुवात ‘डेन्जा जेड९ जीटी’ बाट भइसकेको छ। गत वर्ष सन् २०२३ मा एटो ३ विश्वकै १३ औँ धेरै बिक्री हुने इलेक्ट्रिक गाडी बनेको थियो।













