कोरोला नाकाबाट भित्रिएका पौने आठ सय विद्युतीय गाडी सशस्त्र प्रहरीको नियन्त्रणमा « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

कोरोला नाकाबाट भित्रिएका पौने आठ सय विद्युतीय गाडी सशस्त्र प्रहरीको नियन्त्रणमा



भन्सार छली गरेर नेपाल भित्र्याइएको आशंकामा मुस्ताङ, पर्वत र कास्कीका विभिन्न स्थानबाट ती सवारीसाधनहरू नियन्त्रणमा लिइएका हुन्।

काठमाडौँ । उत्तरी नाका कोरोला हुँदै नेपाल भित्रिएका ठूलो संख्याका विद्युतीय गाडीहरूलाई सशस्त्र प्रहरी बलले आफ्नो नियन्त्रणमा लिएको छ।

भन्सार प्रक्रिया पूरा नगरी राजस्व छलेर ती सवारीसाधनहरू ल्याइएको हुनसक्ने आशंकामा प्रहरीले देशका विभिन्न स्थानबाट कुल ७७४ वटा गाडीहरू समातेको हो। बुधबार राति मुस्ताङको जोमसोम, पर्वतको कुस्मा र कास्कीको हेम्जा क्षेत्रमा विशेष अपरेसन चलाएर ती गाडीहरूलाई रोकिएको सशस्त्र प्रहरीले जनायो।

चिनियाँ सीमा जोडिएको मुस्ताङको कोरोला नाकाबाट भित्रिएका यी गाडीहरूलाई रोक्नका लागि सशस्त्र प्रहरीले आफ्ना विभिन्न गण तथा गुल्महरूबाट ठूलो संख्यामा सुरक्षाकर्मीहरू परिचालन गरेको थियो।

मुस्ताङस्थित नम्बर ३३ गुल्म, म्याग्दी गुल्म, पर्वतको नम्बर २५ चण्डिका गण र कास्कीको नम्बर २४ कालिका गणबाट खटिएका टोलीहरूले विभिन्न गुडिरहेका र रोकिएका गाडीहरूलाई नियन्त्रणमा लिएका हुन्।

यसैबीच, नुवाकोटको पासाङल्हामु सडकखण्डबाट समेत भन्सार छलीकै आशंकामा थप दुई वटा गाडीहरू नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ। पक्राउ गरिएका यी सबै सवारीसाधनहरूमाथि थप छानबिन र कानुनी कारबाही अघि बढाउनका लागि सम्बन्धित सरकारी निकायमा बुझाउने तयारी भइरहेको सशस्त्र प्रहरीले उल्लेख गर्‍यो।


प्रतिक्रिया दिनुहोस्