सर्वसाधारणका लागि असार ३ गतेदेखि माउन्ट एभरेष्ट पावरको आईपीओ खुल्दै « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

सर्वसाधारणका लागि असार ३ गतेदेखि माउन्ट एभरेष्ट पावरको आईपीओ खुल्दै



काठमाडौँ । माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले आगामी असार ३ गतेदेखि सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गर्ने भएको छ।

यसअघि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको शेयर बाँडफाँट गरिसकेपछि कम्पनीले दोस्रो चरणमा आम सर्वसाधारणलाई लगानीको अवसर दिन लागेको हो।

कम्पनीले आफ्नो कुल ८६ करोड रुपैयाँ जारी पूँजीको ३० प्रतिशतले हुन आउने २५ करोड ८० लाख रुपैयाँ बराबरको कुल २५ लाख ८० हजार कित्ता शेयर सार्वजनिक निष्काशन गर्ने अनुमति पाएको थियो। स्वीकृत कुल शेयरमध्ये आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि ८ लाख ६० हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि १ लाख ७२ हजार कित्ता शेयर यसअघि नै वितरण भइसकेको छ।

यसका साथै कम्पनीले आफ्ना कर्मचारीहरूका लागि ३४ हजार ४०० कित्ता र सामूहिक लगानी कोषहरूका लागि ८६ हजार कित्ता शेयर समेत सुरक्षित गरी बाँडफाँट गरिसकेको छ।

यी सबै वर्गलाई छुट्ट्याएर बाँकी रहेको १४ करोड २७ लाख ६० हजार रुपैयाँ बराबरको शेयर अब सर्वसाधारणका लागि खुल्ला गरिनेछ। इच्छुक सर्वसाधारण लगानीकर्ताहरूले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका कुल १४ लाख २७ हजार ६०० कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्।

यो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन पाउने व्यवस्था गरिएको छ। निष्काशन प्रक्रिया छिटोमा असार ८ गते बन्द हुनेछ भने उक्त अवधिभित्र मागबमोजिम आवेदन नपरेको खण्डमा ढिलोमा असार १७ गतेसम्म आवेदन दिने म्याद थपिनेछ।


प्रतिक्रिया दिनुहोस्