माछापुच्छ्रे बैंकद्वारा नेपाल–भारत क्रस बोर्डर ट्रान्सफर सेवा सञ्चालनमा « Arthapath.com
२५ जेष्ठ २०८३, सोमबार

माछापुच्छ्रे बैंकद्वारा नेपाल–भारत क्रस बोर्डर ट्रान्सफर सेवा सञ्चालनमा



काठमाडौं। माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो मोबाइल बैंकिङ एप ‘एमस्मार्ट’ मार्फत नेपाल भारत क्रस बोर्डर ट्रान्सफर सेवा सञ्चालनमा ल्याएको छ। बैंकले यो सेवामार्फत नेपाल र भारतबीच सुरक्षित, सहज तथा तत्काल रकम स्थानान्तरणको सुविधा उपलब्ध गराउने जनाएको छ।

बैंकका अनुसार उक्त सेवाले व्यक्ति–देखि–व्यक्ति (पीटुपी) रकम स्थानान्तरणलाई थप सहज बनाउँदै दुई छिमेकी मुलुकबीचको डिजिटल वित्तीय पहुँच विस्तार गर्न सहयोग पुग्नेछ।

यस सेवामार्फत भारतमा बसोबास, अध्ययन वा रोजगारी गरिरहेका नेपाली नागरिकहरूले त्यहाँ उपलब्ध यूपीआई (युपिआई) आधारित डिजिटल भुक्तानी एप प्रयोग गरी नेपालस्थित आफ्ना परिवारजन वा अन्य लाभग्राहीको बैंक खातामा सहज रूपमा रकम पठाउन सक्नेछन्। पठाइएको रकम लाभग्राहीको खातामा तत्काल जम्मा हुने भएकाले छिटो, सुरक्षित र भरपर्दो रेमिट्यान्स सेवा प्राप्त हुने बैंकले जनाएको छ।

त्यसैगरी, नेपालमा बसोबास गर्ने वा कार्यरत भारतीय नागरिकहरूले पनि एमस्मार्ट एपमा उपलब्ध क्रस बोर्डर ट्रान्सफर सुविधामार्फत भारतमा सहज रूपमा रकम पठाउन सक्नेछन्।

बैंकले सेवा सञ्चालनका क्रममा सुरक्षा, पारदर्शिता तथा नियामकीय मापदण्डहरूको पूर्ण पालना गरिएको जनाएको छ। यस पहलले नेपाल भारतबीचको डिजिटल भुक्तानी तथा रेमिट्यान्स प्रणालीलाई थप सुदृढ बनाउनुका साथै ग्राहकलाई आधुनिक, सुरक्षित र सुविधाजनक बैंकिङ अनुभव प्रदान गर्ने विश्वास बैंकको छ।

माछापुच्छ्रे बैंकले आगामी दिनमा पनि प्रविधिमैत्री तथा ग्राहक केन्द्रित वित्तीय सेवाहरू विस्तार गर्दै डिजिटल बैंकिङ क्षेत्रमा नवीनतम सेवा सुविधा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ।


प्रतिक्रिया दिनुहोस्