नेपाल उद्योग वाणिज्य संघको आयोजनामा व्यवसायमैत्री कर प्रणालीबारे छलफल तथा अभिमुखिकरण सम्पन्न
काठमाडौं । नेपाल उद्योग वाणिज्य संघ, काठमाडौँको आयोजनामा आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्य तथा आर्थिक विधेयक, कर, राजस्व, भन्सार, आर्थिक ऐन तथा एमआरपी सम्बन्धी छलफल तथा अभिमुखिकरण कार्यक्रम काठमाडौँस्थित एल्लो प्यागोडा होटल, कान्तिपथमा सम्पन्न भएको छ।
कार्यक्रममा चार्टर्ड एकाउन्टेन्ट शेषमणि दाहालले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत प्रस्तावित कर तथा राजस्व नीतिहरू, भन्सार दरमा गरिएका परिवर्तनहरू, आर्थिक ऐनका प्रमुख व्यवस्थाहरू तथा एमआरपी सम्बन्धी प्रावधानहरूको विस्तृत प्रस्तुतीकरण गरेका थिए। उनले नयाँ व्यवस्थाहरूको प्रभाव, उद्योग तथा व्यवसाय क्षेत्रका लागि उत्पन्न अवसर र चुनौतीहरू तथा कार्यान्वयनका व्यवहारिक पक्षहरूबारे सहभागीहरूलाई जानकारी गराएका थिए।
कार्यक्रममा आर्थिक विधेयक, २०८३ मा प्रस्तावित संशोधन तथा सुधारका विषयहरूबारे समेत विस्तृत छलफल गरिएको थियो। छलफलका क्रममा कर प्रणालीलाई थप सरल, पारदर्शी र व्यवसायमैत्री बनाउने उद्देश्यले कर प्रशासनको डिजिटलकरण, करदातामैत्री सेवा प्रवाह तथा कर विवाद समाधान प्रक्रियालाई सहज बनाउने व्यवस्थाहरू प्रस्तुत गरिएको थियो। साथै, व्यवसाय दर्ता, सञ्चालन तथा खारेजी प्रक्रियालाई छरितो बनाउने, लगानीमैत्री वातावरण सुदृढ गर्ने तथा निजी क्षेत्रको सहभागिता अभिवृद्धि गर्ने विषयहरूमा समेत जोड दिइएको थियो।
यसैगरी, कर छुट तथा सहुलियतका व्यवस्थाहरूलाई लक्षित समूहसम्म प्रभावकारी रूपमा पुर्याउने, अनावश्यक प्रशासनिक झन्झट घटाउने तथा राजस्व संकलन प्रणालीलाई आधुनिक प्रविधिमैत्री बनाउने विषयमा समेत छलफल गरिएको थियो।
कार्यक्रममा उपस्थित उद्योगी, व्यवसायी तथा उद्यमीहरूले बजेटका विभिन्न पक्षहरूबारे जिज्ञासा राख्दै आफ्ना सुझाव तथा धारणा व्यक्त गरेका थिए। अन्तरक्रियात्मक रूपमा सञ्चालन गरिएको उक्त कार्यक्रममा सहभागीहरूले व्यवसाय सञ्चालन, कर प्रशासन तथा भन्सार प्रक्रियासँग सम्बन्धित विषयहरूमा आवश्यक जानकारी प्राप्त गरेका थिए।














