बाढी आगलागी प्रभावित परिवारलाई आईजीआई प्रुडेन्सियलको सहयोग
काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड ले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कर्णाली प्रदेशका बाढी तथा आगलागी प्रभावित परिवारलाई सहयोग प्रदान गरेको छ ।
कम्पनीले कालिकोट जिल्लाका विभिन्न स्थानीय तहमा अविरल वर्षा र आगलागीबाट विस्थापित भएका ५७ घरपरिवारका लागि एक लाख रुपैयाँ बराबरका ३२ थान सिरक सहयोग गरेको जनाएको छ ।
२०८२ साल असोज १८ देखि २४ गतेसम्म परेको अविरल वर्षाका कारण शुभकालिका गाउँपालिका, महावै गाउँपालिका, खाँडाचक्र नगरपालिका तथा तिलागुफा नगरपालिकाका विभिन्न वडामा ठूलो क्षति पुगेको थियो । साथै केही क्षेत्रमा आगलागीका घटनासमेत भएका थिए ।
कम्पनीले कर्णाली प्रदेश पर्यटन तथा सांस्कृतिक संरक्षण केन्द्रको समन्वयमा आफ्नो केन्द्रीय कार्यालय पानीपोखरी, काठमाडौंमा आयोजित कार्यक्रममा उक्त सहयोग हस्तान्तरण गरेको हो ।
कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले कर्णाली प्रदेश पर्यटन तथा सांस्कृतिक संरक्षण केन्द्रका अध्यक्ष टेकराज शाहीलाई सहयोग सामग्री हस्तान्तरण गरेका हुन् ।
उक्त अवसरमा श्रेष्ठले प्राकृतिक विपत्तिबाट प्रभावित परिवारलाई सहयोग गर्न पाउँदा खुशी लागेको बताउँदै आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वअन्तर्गत यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।
केन्द्रका अध्यक्ष शाहीले विपद्पीडितका लागि गरिएको सहयोगप्रति कम्पनीलाई धन्यवाद दिएका थिए ।














