नेपाल लेखामान बोर्डको अध्यक्षमा सिए रमेश धिताल नियुक्त
काठमाडौं । नेपाल सरकारले नेपाल लेखामान बोर्डको अध्यक्ष पदमा वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट रमेश कुमार धिताललाई नियुक्त गरेको छ ।
शुक्रबार बसेकाे मन्त्रिपरिषद् बैंठकले धिताललाई नेपाल लेखामान बोर्डको अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेकाे हाे।
नेपाल चार्टर्ड एकाउन्टेन्टस् ऐन, २०५३ बमोजिम मन्त्रिपरिषद्को निर्णयअनुसार धिताललाई उक्त जिम्मेवारी दिइएको हो । सिन्धुपाल्चोकको चौतारा नगरपालिका निवासी धिताल लेखा व्यवसाय, वित्तीय प्रतिवेदन प्रणाली तथा नियमनलाई थप प्रभावकारी, पारदर्शी र व्यवस्थित बनाउने उद्देश्यका साथ बोर्डको नेतृत्वमा आएका हुन् ।
नवनियुक्त अध्यक्ष धितालसँग लेखापरीक्षण, वित्तीय परामर्श, जोखिम व्यवस्थापन तथा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय वित्तीय प्रतिवेदन मापदण्ड कार्यान्वयनका क्षेत्रमा २० वर्षभन्दा बढीको अनुभव रहेको छ । उनले बैंक तथा वित्तीय संस्थामा एनएफआरएस तथा एक्सपेक्टेड क्रेडिट लोस कार्यान्वयनमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुका साथै सूचना प्रविधि लेखापरीक्षणलाई समेत परिष्कृत बनाउन महत्वपूर्ण योगदान दिएका छन् ।
धितालले आफ्नो व्यावसायिक यात्रा विश्वप्रसिद्ध ‘बिग ४’ लेखा तथा परामर्श कम्पनी अर्न्स्ट एण्ड यंगको मुम्बई कार्यालयबाट सुरु गरेका थिए । त्यसपछि उनले नेपाल राष्ट्र बैंक, नेपाल विद्युत् प्राधिकरण, नेपाल एयरलाइन्स, बीमा प्राधिकरणलगायतका बैंकिङ तथा वित्तीय संस्थाहरूमा लेखापरीक्षण र परामर्श सेवा प्रदान गरेका छन् । साथै, उनले एसियाली विकास बैंकका विभिन्न परियोजनामा पनि जिम्मेवारीपूर्वक काम गरिसकेका छन् ।
चार्टर्ड एकाउन्टेन्ट क्षेत्रको नेतृत्व तहमा समेत सक्रिय धिताल नेपाल चार्टर्ड एकाउन्टेन्ट संघमा उपाध्यक्ष तथा महासचिवको जिम्मेवारी निर्वाह गरिसकेका छन् । हाल उनी संस्थाको परीक्षा समिति सदस्यका रूपमा कार्यरत छन् । साथै, उनले नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाका विभिन्न समितिमा रहेर नीति तथा अध्ययन सामग्री विकासमा समेत योगदान पुर्याएका छन् ।
धितालले नेपाल तथा भारत दुवै देशबाट चार्टर्ड एकाउन्टेन्सी गरेका छन् । साथै, उनले पूर्वाञ्चल विश्वविद्यालयबाट एमबिए, अमेरिकाको इसाकााबाट सिआइएसए तथा बेलायतको एसिसिएबाट (डिपआईएफआर) जस्ता उच्च व्यावसायिक योग्यता हासिल गरेका छन् ।
वित्तीय प्रणालीलाई अन्तर्राष्ट्रिय उत्कृष्ट अभ्याससँग जोड्दै नेपाल वित्तीय प्रतिवेदन मानलाई अझ प्रभावकारी रूपमा कार्यान्वयन गर्ने दिशामा नवनियुक्त अध्यक्ष धितालको नेतृत्वले महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
अर्थ मन्त्रालयका प्रवक्ता अमृत लम्सालका अनुसार उनको अनुभव, दक्षता र योगदानका आधारमा नै धिताललाई योग्य ठहर गर्दै अध्यक्ष पदमा नियुक्त गरिएको हो ।














