यो साल टोयोटाका दुई नयाँ हाइब्रिड एसयूभी आउँदै
जापानी सवारी उत्पादक कम्पनी टोयोटाले कार्बन तटस्थता हासिल गर्ने रणनीतिक योजना अन्तर्गत सन् २०२६ भित्र भारतीय बजारमा दुईवटा नयाँ हाइब्रिड एसयूभी गाडीहरू सार्वजनिक गर्ने भएको छ।
काठमाडौँ । जापानी अटोमोबाइल निर्माता कम्पनी टोयोटा किर्लोस्कर मोटरले भारतीय बजारमा आफ्नो पकड बलियो बनाउन ठूलो रणनीतिक योजना अगाडि सारेको छ। कम्पनीले हालै सार्वजनिक गरेको ‘अर्बन क्रुजर एबेला ईभी’ पछि अब सन् २०३० सम्ममा थप १५ वटा नयाँ मोडेल बजारमा ल्याउने लक्ष्य राखेको छ।
पर्यावरणमा नकारात्मक असर नपार्ने अर्थात् कार्बन तटस्थता हासिल गर्ने उद्देश्यका साथ टोयोटाले बहु-पावरट्रेन रणनीति अपनाएको छ।
यसै योजना अन्तर्गत कम्पनीले इन्धनबाट चल्ने साधारण गाडी, हाइब्रिड, विद्युतीय र फ्लेक्स–फ्युलबाट चल्ने विभिन्न मोडेलहरू बजारमा उतार्ने तयारी गरेको छ।
यही लामो यात्राको एउटा महत्त्वपूर्ण कडीको रूपमा सन् २०२६ मा दुईवटा हाइब्रिड एसयूभी गाडीहरू भारतीय बजारमा भित्रिने भएका छन्, जसमा नयाँ अर्बन क्रुजर हाइराइडर र सात सिट क्षमता भएको अर्को हाइराइडर रहनेछन्।
नयाँ रूप र शैलीमा हाइराइडर फेसलिफ्ट
सन् २०२६ मा आउने टोयोटा हाइराइडर फेसलिफ्टमा पुरानै इन्जिन र पावरट्रेनलाई कायम राख्दै यसको डिजाइन र सुविधाहरूमा भने व्यापक परिमार्जन गरिने अपेक्षा गरिएको छ।
यसको बाहिरी आवरणलाई थप आकर्षक बनाइनेछ भने भित्री भागमा धेरै आधुनिक सुविधाहरू थपिनेछन्। हाल यो एसयूभी दुईवटा इन्जिन विकल्पमा उपलब्ध छ। पहिलो, १.५ लिटरको ४-सिलिन्डर भएको ‘माइल्ड हाइब्रिड’ पेट्रोल इन्जिन हो जसले १०३ पीएस शक्ति र १३७ एनएम टर्क उत्पन्न गर्छ।
दोस्रो, १.५ लिटरकै ३-सिलिन्डर भएको एट्किन्सन साइकल ‘स्ट्रङ हाइब्रिड’ पेट्रोल इन्जिन हो जसले ११५ पीएस शक्ति र १४१ एनएम टर्क दिन्छ।
यो गाडीको गियर प्रणाली र नियन्त्रणलाई पनि चालकको रुचि अनुसार मिलाइएको छ। माइल्ड हाइब्रिड पेट्रोल इन्जिनमा ५-स्पीड म्यानुअल वा ६-स्पीड टर्क कन्भर्टर अटोमेटिक गियरबक्सको विकल्प पाउन सकिन्छ। अर्कोतर्फ, स्ट्रङ हाइब्रिड इन्जिनमा भने विशेष रूपमा ‘ई-सीभीटी’ अर्थात् इलेक्ट्रोनिक कन्टिन्युयस्ली भेरियबल ट्रान्समिसन प्रणाली जडान गरिएको छ।
सामान्यतया फ्रन्ट–ह्विल ड्राइभ प्रणाली यसमा स्ट्यान्डर्डका रूपमा आउने भए पनि म्यानुअल गियर भएका केही छानिएका मोडेलहरूमा भने अल–ह्विल ड्राइभको सुविधा पनि उपलब्ध गराइएको छ।
धेरै सिट क्षमता भएको नयाँ एसयूभी
टोयोटाले परिवारका धेरै सदस्यहरू एकैसाथ यात्रा गर्न मिल्ने गरी सात सिट क्षमताको नयाँ हाइराइडर पनि बजारमा ल्याउँदैछ। यो नयाँ गाडीमा पनि पाँच सिट क्षमता भएको स्ट्यान्डर्ड मोडलकै जस्तो माइल्ड हाइब्रिड र स्ट्रङ हाइब्रिड इन्जिन प्रयोग गरिनेछ।
तर, तेस्रो लहरको सिटलाई सहज रूपमा अटाउनका लागि यसको ह्विलबेस अर्थात् पाङ्ग्राहरू बीचको दूरी र गाडीको पछाडिको भागलाई अलि लामो बनाइने सम्भावना छ। डिजाइनको कुरा गर्दा यसले एसयूभी गाडीको परम्परागत र बलियो रूपलाई कायमै राख्नेछ, जसमा बलियो बडी क्ल्याडिङ, दुई भागमा बाँडिएका एलइडी हेडल्याम्प र एकापसमा जोडिएका एलइडी टेलल्याम्पहरू देख्न पाइनेछ।
यो तीन लहरको सिट भएको गाडी ६ सिट र ७ सिट गरी दुईवटा विकल्पमा आउने सम्भावना छ। ६ सिटे मोडलको बीचको लहरमा छुट्टाछुट्टै क्याप्टेन सिटहरू हुनेछन् भने ७ सिटे मोडलको दोस्रो लहरमा बेन्च जस्तो लामो सिट राखिनेछ। पछाडिको तेस्रो लहरको सिटसम्म सहजै पुग्नका लागि दोस्रो लहरको सिटलाई अगाडि–पछाडि सार्न मिल्ने बनाइनेछ।
गाडीलाई अत्याधुनिक र सुविधासम्पन्न बनाउन यसमा १०.२५ इन्चको इन्फोटेनमेन्ट प्रणाली, पूर्ण रूपमा डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, प्यानोरामिक सनरुफ, वायरलेस चार्जिङ र प्रिमियम अडियो सिस्टम जडान गरिनेछ। यसका साथै यात्रालाई सुरक्षित बनाउनका लागि यस गाडीमा ‘टोयोटा सेफ्टी सेन्स’ अर्थात् एडास प्रविधि पनि उपलब्ध गराइने अपेक्षा गरिएको छ।












