मोरङ उद्योग व्यापार संघले सम्पन्न गर्यो महिला उद्यमी तालिम « Arthapath.com
२ असार २०८३, मंगलबार

मोरङ उद्योग व्यापार संघले सम्पन्न गर्यो महिला उद्यमी तालिम



काठमाडौं । मोरङ उद्योग व्यापार संघको महिला उद्यम समितिको आयोजना तथा विराटनगर महानगरपालिकाको सहयोगमा संचालित तीन दिने ‘प्रभावकारी सार्वजनिक प्रस्तुतीकरण तथा कार्यक्रम सञ्चालन सीप विकास तालिम’ सफलतापूर्वक सम्पन्न भएको छ ।

महिला उद्यमीहरुको नेतृत्व क्षमता, सार्वजनिक प्रस्तुतीकरण, बोल्ने प्रतिभा तथा कार्यक्रमहरु संचालन सम्बन्धी सीप अभिवृद्धि गर्ने उद्देश्यले आयोजित तालिममा मोरङ जिल्लाका २५ जना महिला उद्यमीहरुको सहभागिता रहेको थियो ।

जेठ २९, ३० र ३१ गते संचालन गरिएको सो तालिममा प्रभावकारी सार्वजनिक प्रस्तुतीकरण, वक्तृत्वकला, संचार सीप, आत्मविश्वास अभिवृद्धि, कार्यक्रम सञ्चालनका विधि तथा व्यवहारिक अभ्यास आदि विषयहरुमा प्रशिक्षण प्रदान गरिएको थियो ।

जेठ २९ गते प्रारम्भ गरिएको उक्त तालिमको उद्घाटन समारोहमा संघको महिला उद्यम समितिकी सह–संयोजक साधना झाको सभापतित्व तथा मोरङ उद्योग व्यापार संघका उपाध्यक्ष अनिल सारडाको प्रमुख आतिथ्यता रहेको थियो ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि सारडाले महिला उद्यमीहरुलाई व्यवसाय संचालनका साथै आफ्नो विचार र उत्पादनलाई प्रभावकारी रुपमा प्रस्तुत गर्न सक्ने क्षमता विकास गर्नु आजको आवश्यकता रहेको बताए । यस्ता सीपमूलक तालिमले महिला उद्यमीहरुको आत्मविश्वास वृद्धि गरी व्यवसाय प्रवद्र्धनमा समेत सकारात्मक योगदान पुग्ने धारणा प्रकट पारे ।

तीन दिनसम्म सञ्चालन भएको तालिममा ए वन मिडिया प्रालिका सञ्चारकर्मी तथा प्रशिक्षक भागिरथ कुमार पोखरेलले सहजीकरण गरेका थिए । तालिममा सहभागीहरुलाई सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक अभ्यासका साथै सार्वजनिक रुपमा आत्मविश्वासका साथ बोल्ने तरिका, कार्यक्रम संचालनका आधारभूत तथा उन्नत सीप, शारीरिक भाषा (बडी ल्याङ्ग्वेज), आवाजको प्रयोग, प्रस्तुतीकरण कला तथा श्रोतासँग प्रभावकारी संवाद स्थापित गर्ने विषयहरुमा अभ्यास गराईएको थियो ।

जेठ ३१ गते संघका अध्यक्ष अनुपम राठीको प्रमुख आतिथ्यतामा सम्पन्न गरिएको उक्त तालिमको समापन समारोहमा संघका अध्यक्ष राठीले तालिमबाट प्राप्त ज्ञान, अनुभव तथा सीपले महिला उद्यमीहरुको व्यवसायिक तथा व्यक्तिगत जीवनमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नु भई उद्यमशीलता विकासका लागि प्राविधिक ज्ञानसँगै प्रभावकारी संचार तथा प्रस्तुतीकरण सीप पनि उत्तिकै आवश्यक रहेको उल्लेख गरे ।

साथै, महिला उद्यमीहरुको क्षमता अभिवृद्धिका लागि आगामी दिनमा समेत यस्ता तालिमलाई निरन्तरता दिइने प्रतिबद्धता जाहेर गर्नु भएको थियो । संघका महासचिव संजय कुमार श्रेष्ठले तालिमबाट प्राप्त ज्ञान र सिकाईलाई महिला उद्यमीहरुले व्यवहारमा उतार्दै व्यवसायिक तथा सामाजिक क्षेत्रमा अझ सक्रीय भूमिका निर्वाह गर्न सक्ने क्षमता विकास भएको बताउए ।

साथै, महिला उद्यम समितिकी सह–संयोजक साधना झाले पनि महिला उद्यमीहरुको क्षमता विकास र सशक्तीकरणका लागि यस्ता तालिम अत्यन्त महत्वपूर्ण रहेको बताउनु भई तालिमबाट सहभागीहरुको प्रभावकारी भाषण कला, सार्वजनिक प्रस्तुतीकरण तथा कार्यक्रम संचालन क्षमतामा उल्लेखनीय सुधार आउने विश्वास व्यक्त गर्नु भई उक्त तालिम सफल बनाउन सहयोग गर्ने विराटनगर महानगरपालिका, प्रशिक्षक तथा सम्पूर्ण सहभागीप्रति धन्यवाद व्यक्त गरे ।

तालिमबाट सहभागी महिला उद्यमीहरुले आफूहरुलाई सार्वजनिक रुपमा बोल्न सक्ने आत्मविश्वास, कार्यक्रम संचालनका व्यवहारिक सीप तथा व्यवसाय प्रवद्र्धनका लागि आवश्यक प्रस्तुतीकरण कला हासिल भएको प्रतिक्रिया दिएका थिए । उनीहरुले यस्ता क्षमता अभिवृद्धिमूलक कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तर संचालन गर्नुपर्ने आवश्यकता औँल्याएका थिए ।

मोरङ उद्योग व्यापार संघले महिला उद्यम समितिले महिला उद्यमीहरुको नेतृत्व विकास, व्यवसायिक क्षमता अभिवृद्धि तथा उद्यमशीलता प्रवद्र्धनका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस्