सर्वोत्तम पेन्ट्सको आईपीओ निष्काशन बन्द हुँदै, आवेदन दिने आज अन्तिम माैका
काठमाडौं । सर्वोत्तम पेन्ट्स ईण्डष्ट्रिजले सर्वसाधारणका लागि जारी गरेको आईपीओमा आवेदन दिने आज (असार २ गते) अन्तिम दिन हो।
कम्पनीले जेठ २८ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गरेको थियो। यसअघि कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन गरी बाँडफाँटसमेत गरिसकेको छ।
कम्पनीले आफ्नो जारी पूँजी ३४ करोड रुपैयाँको २५ प्रतिशतले हुन आउने कुल ८ लाख ५० हजार कित्ता शेयर आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये १० प्रतिशत अर्थात् ८५ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि र ४२ हजार कित्ता साधारण शेयर सामूहिक लगानी कोषहरूका लागि छुट्याएर यसअघि नै बाँडफाँट भइसकेको छ।
त्यसपछि बाँकी रहेको शेयरमध्ये १७ हजार कित्ता कर्मचारीहरूका लागि सुरक्षित राखिएको छ। कर्मचारीहरूलाई छुट्याएर बाँकी रहेको ७ करोड ५ लाख ५० हजार रुपैयाँ बराबरको कुल ७ लाख ५ हजार ५०० कित्ता शेयर मात्रै कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि निष्काशन गरेको हो।
सर्वसाधारण लगानीकर्ताले यस आईपीओमा न्यूनतम १० कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ। शेयर भर्न चाहने इच्छुक लगानीकर्ताहरूले अधिकतममा ५ हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।












