कामना सेवा विकास बैंकद्वारा हेल्पिङ ह्यान्ड्स बालगृहलाई वाटर डिस्पेन्सर हस्तान्तरण
काठमाडौं। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत नख्खु शाखामार्फत सितापाइला, नागार्जुनस्थित हेल्पिङ ह्यान्ड्स बालगृहलाई वाटर डिस्पेन्सर हस्तान्तरण गरेको छ।
बैंकका काठमाडौं क्षेत्र प्रमुख केदारनाथ शर्माले बालगृहकी सृजना नेपालीलाई वाटर डिस्पेन्सर हस्तान्तरण गरेका हुन्। यस सहयोगबाट हेल्पिङ ह्यान्ड्स बालगृहमा आश्रित बालबालिकाका लागि स्वच्छ तथा सुरक्षित खानेपानीको पहुँचलाई थप सहज बनाउने उद्देश्यले वाटर डिस्पेन्सर उपलब्ध गराइएको हो। यस सहयोगले बालगृहमा रहेका बालबालिकाहरूको दैनिक जीवनयापनमा सकारात्मक योगदान पुग्ने विश्वास बैंकले व्यक्त गरेको छ।
हेल्पिङ ह्यान्ड्स बालगृहकी सृजना नेपालीले बालगृहका बालबालिकाहरूको आवश्यकता सम्बोधन गर्न सहयोग पुर्याएकोमा कामना सेवा विकास बैंकप्रति आभार व्यक्त गर्दै यस्ता सामाजिक सहयोगले संस्थालाई आफ्ना सेवाहरू थप प्रभावकारी रूपमा सञ्चालन गर्न मद्दत पुग्ने बताइन् । उक्त कार्यक्रममा बैंकका कर्मचारी तथा हेल्पिङ ह्यान्ड्स बालगृहका बालबालिकाहरूको उपस्थिति रहेको थियो। यससँगै बैंकले आगामी दिनहरूमा समेत सरोकारवालासँगको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका सामाजिक कार्यलाई निरन्तरता दिने जनाएको छ।












