नेपालमा प्रतीक्षा गरिएको नयाँ एमजी म्याजेस्टरको बुकिङ खुला: कस्तो छ यो लक्जरी एसयूभी? « Arthapath.com
५ असार २०८३, शुक्रबार

नेपालमा प्रतीक्षा गरिएको नयाँ एमजी म्याजेस्टरको बुकिङ खुला: कस्तो छ यो लक्जरी एसयूभी?



काठमाडौँ । ब्रिटिस हेरिटेज तथा जेएसडब्लू एमजी मोटरले भारतीय बजारमा आफ्नो बहुप्रतीक्षित फ्ल्यागसिप विलासी एसयूभी ‘एमजी म्याजेस्टर’ को पहिलो झलक सार्वजनिक गर्दै आधिकारिक बुकिङ खुला गरेको छ।

हाल बजारमा रहेको प्रसिद्ध एमजी ग्लोस्टरलाई विस्थापित गर्ने तयारीका साथ कम्पनीले नयाँ र प्रिमियम तीन-रो भएको गाडीलाई बजारमा उतारेको हो। नयाँ रूप र अत्याधुनिक फिचरमा ल्याइएको यस गाडीको औपचारिक बिक्री तथा डेलिभरी भने आगामी केही हप्तामा मात्र सुरु हुनेछ।

कम्पनीले भारतीय बजारका लागि यस गाडीको सबैभन्दा महँगो र सबै सुविधाहरू भएको ‘टप मोडल’ (स्याभी भेरियन्ट) को मूल्य ४० लाख ९९ हजारदेखि ४४ लाख ९९ हजार भारतीय रुपैयाँसम्म तोकेको छ। यसको सुरुवाती भेरियन्ट अर्थात सस्ताे माेडलकाे मूल्य र उत्पादन विवरण भने कम्पनीले आगामी लन्चिङ कार्यक्रममा सार्वजनिक गर्ने जनाएको छ।

एमजी म्याजेस्टरको बाहिरी डिजाइन पुरानो ग्लोस्टरको तुलनामा निकै आक्रामक, मस्कुलर र अत्याधुनिक बनाइएको छ। यसको अगाडिको भागमा दिइएको ठूलो चमकदार कालो ग्रिल र तीखो म्याट्रिक्स एलईडी हेडल्याम्पले गाडीलाई सडकमा गुड्दा निकै प्रिमियम लुक्स दिन्छ।

करिब ५ हजार ४६ मिलिमिटर लम्बाइ भएको यो गाडी आफ्नो सेगमेन्टमा सबैभन्दा लामो र फराकिलो एसयूभीमध्ये एक बनेको छ। यसको साइड प्रोफाइलमा १९ इन्चको आकर्षक ड्युअल-टोन अलाय ह्विल र पछाडिको भागमा आधुनिक कनेक्टेड एलईडी टेल ल्याम्प जडान गरिएको छ।

गाडीको भित्री भाग (इन्टेरियर) लाई प्रिमियम अनुभव दिने गरी ‘अल-ब्ल्याक’ र खरानी रङ (ग्रे) को सम्मिश्रणमा महँगो लेदर सिटका साथ तयार पारिएको छ। यो गाडी ६-सिट (क्याप्टेन सिट) र ७-सिट (बेन्च सिट) गरी दुईवटा बस्ने व्यवस्थामा उपलब्ध हुनेछ। यसको ड्यासबोर्डमा १२.३ इन्चको इन्फोटेनमेन्ट टचस्क्रिन र चालकका लागि १२.३ इन्चको पूर्ण-डिजिटल ड्राइभर डिस्प्ले दिइएको छ।

साथै, वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्ले, प्यानोरामिक विलासी सनरुफ, ६४-कलर एम्बियन्ट लाइटिङ, दुईवटा वायरलेस चार्जिङ प्याड र क्याबिन एयर फिल्टर जस्ता आधुनिक सुविधाहरू यसमा समावेश छन्। आरामलाई ध्यानमा राख्दै यसमा गुड्दागुड्दै मसाज गर्ने प्रविधिसहितको (मसाजिङ र भेन्टिलेटेड) अगाडि र पछाडिका सिटहरू राखिएका छन्। मनोरञ्जनका लागि यसमा १२ वटा स्पिकरयुक्त प्रिमियम जेबीएल अडियो सिस्टम जडान गरिएको छ।

इन्जिन र कार्यक्षमताको कुरा गर्दा, म्याजेस्टर आफ्नो सेगमेन्टमा ‘ट्विन-टर्बो’ डिजेल इन्जिन अफर गर्ने एक मात्र एसयूभी हो। यसमा रहेको २.० लिटरको ट्विन-टर्बो डिजेल इन्जिनले २१५ हर्सपावर र ४७९ एनएमको उत्कृष्ट टर्क पैदा गर्छ। यो इन्जिन ८-स्पीड अटोमेटिक गियरबक्ससँग जोडिएको छ।

यो गाडी २-ह्विल ड्राइभ र शक्तिशाली ४-ह्विल ड्राइभ दुवै विकल्पमा उपलब्ध छ। यसको ४-ह्विल ड्राइभ संस्करणमा खराब र चुनौतीपूर्ण सडकका लागि १० वटा फरक-फरक अफ-रोड मोडहरू, डिफरन्सियल लक र क्रोल मोड जस्ता विशेष प्रविधिहरू दिइएका छन्, जुन नेपाली भूगोल र सडकका लागि निकै उपयोगी साबित हुन सक्छन्।

सुरक्षाका दृष्टिकोणले पनि यो गाडी अत्यन्तै भरपर्दो छ। यसमा दुर्घटनाबाट बचाउन मद्दत गर्ने लेभल-२ एडास प्रविधि जडान गरिएको छ, जसअन्तर्गत एडाप्टिभ क्रुज कन्ट्रोल, लेन असिस्ट र अटोमेटिक इमर्जेन्सी ब्रेकिङ जस्ता सुविधाहरू पाइन्छन्।

यसबाहेक सुरक्षाका लागि ७ वटा एयरब्याग, ३६०-डिग्री क्यामेरा, चारै पाङ्ग्रामा डिस्क ब्रेक, इलेक्ट्रोनिक स्ट्याबिलिटी कन्ट्रोल, टायर प्रेसर मोनिटरिङ सिस्टम र हिल होल्ड असिस्ट जस्ता सुरक्षा उपकरणहरू यसमा अनिवार्य रूपमा राखिएका छन्।

बजारमा आएपछि याे एसयूभीले मुख्य रूपमा टोयोटा फर्चुर्नर, जिप मेरिडियन, स्कोडा कोडियाक र फक्सवागन टायरोन जस्ता स्थापित गाडीहरूसँग कडा प्रतिस्पर्धा गर्ने देखिन्छ। जेस्टरले आफ्नो श्रेणीमा विलासिता र मूल्यको उत्कृष्ट सन्तुलन प्रदान गर्ने कम्पनीले जनाएकाे छ।

भारतीय बजारमा यसको प्रदर्शन र बुकिङ खुला भएसँगै नेपाली गाडी पारखीहरू माझ पनि यस नयाँ प्रिमियम एसयूभीलाई लिएर निकै उत्सुकता बढेको छ।


प्रतिक्रिया दिनुहोस्