साताको शेयर बजार: २० अर्ब कारोबार सहित २१ अंकले घट्यो नेप्से, ’पर्ख र हेर’को रणनीतिमा लगानीकर्ता « Arthapath.com
६ असार २०८३, शनिबार

साताको शेयर बजार: २० अर्ब कारोबार सहित २१ अंकले घट्यो नेप्से, ’पर्ख र हेर’को रणनीतिमा लगानीकर्ता



काठमाडौं । नयाँ आर्थिक वर्ष सुरु हुन अब एक महिना मात्र बाँकी रहँदा पुँजी बजारमा भने केही सुस्ती र दबाब देखिएको छ । असार महिनाको पहिलो साता अर्थात् असार १ गतेदेखि ५ गतेसम्म (जुन १५ देखि १९, २०२६) भएको सेयर कारोबारमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा गिरावट आएको छ ।

अघिल्लो साताको अन्तिम कारोबार दिन शुक्रबार २७२४ को विन्दुमा बन्द भएको नेप्से परिसूचक यो साताको अन्तिम दिन शुक्रबारसम्म आइपुग्दा २१ अंकले घटेर २७०२.११ विन्दुमा ओर्लिएको छ । साताभर बजार समग्रमा घट्ने क्रममै रह्यो, जसले लगानीकर्ताहरू आगामी मौद्रिक नीति र बजेट कार्यान्वयनको पर्खाइमा रहँदा ’पर्ख र हेर’ को रणनीति अपनाइरहेको प्रस्ट पार्छ।

यो साताभरको पाँच कारोबार दिनमा औसत रूपमा दैनिक बजार ४.३८४ अंकले घटेको छ । बजार सुस्ताए पनि कारोबार रकमको दृष्टिकोणले भने बजारमा बलियो तरलता प्रवाह कायमै देखिन्छ ।

यो साता नेपाली सेयर बजारमा लगानीकर्ताको आकर्षण र खरिद–बिक्रीको चाप बलियो नै रह्यो । पाँच दिनको कारोबारमा जम्मा २० अर्ब ४ करोड ७३ लाख ३ हजार रुपैयाँ बराबरको सेयर खरिद–बिक्री भएको छ । यस साता समग्र बजारको दैनिक औसत कारोबार रकम ४ अर्ब ९ लाख ४६ हजार रुपैयाँ रहेको छ । जसले बजार परिसूचक घटे पनि कारोबार रकममा अझै ठूलो विचलन नआएको संकेत गर्छ ।

साताभर जम्मा ४ करोड ८४ लाख ८९ हजार ६ सय २० कित्ता सेयर कुल २ लाख ८२ हजार ३ सय ९३ पटकको कारोबारबाट किनबेच भएका छन् । बजारमा दैनिक औसत ३५२ भन्दा बढी कम्पनीहरू सक्रिय रूपमा कारोबारमा सामेल भए । बजारको यो प्रवृत्तिले के देखाउँछ भने बजार केही अंकले सन्तुलित बन्न खोजे पनि क्रेता र विक्रेता दुवै सक्रिय नै छन् । जसले आगामी दिनमा बजारले नयाँ दिशा तय गर्ने संकेत दिन्छ ।

कुन दिन कस्तो थियो बजार ?

दैनिक बजार प्रदर्शनलाई विश्लेषण गर्दा साताको पहिलो दिन सोमबार (असार १ गते) परिसूचक २,७११.७६ विन्दुमा झरेको थियो । जहाँ बजारमा १२.२६ अंकको गिरावट देखिएको थियो ।

सोमबार ४ अर्ब ४१ करोड २० लाख ४८ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । दोस्रो दिन मंगलबार (असार २ गते) पनि परिसूचक ६.३१ अंकले घटेर २,७०५.४५ विन्दुमा सीमित हुन पुग्यो । जसमा ४ अर्ब ४ करोड ७८ लाख ५८ हजार रुपैयाँको सेयर कारोबार भयो ।

तेस्रो दिन बुधबार (असार ३ गते) बजारमा थोरै स्थिरता देखियो र परिसूचक ०.०८ अंकको झिनो सुधारका साथ २,७०५.५३ विन्दुमा बन्द भयो । उक्त दिन कुल ३ अर्ब ६३ करोड ७५ लाख ८९ हजार रुपैयाँको कारोबार भएको थियो ।

चौथो दिन बिहीबार (असार ४ गते) बजार पुन: ५.०६ अंकले ओरालो लागेर २,७००.४७ को बिन्दुमा झर्न पुग्यो । जसमा साताकै सबैभन्दा कम ३ अर्ब ४१ करोड ४८ लाख २३ हजार रुपैयाँको मात्र कारोबार भयो ।

साताको अन्तिम दिन शुक्रबार (असार ५ गते) भने बजारले सकारात्मक मोड लियो । शुक्रबार परिसूचकमा १.६३ अंकको सुधार आई २,७०२.११ विन्दुमा बन्द भयो भने कारोबार रकम पनि उत्साहजनक ढंगले बढेर साताकै उच्च ४ अर्ब ५३ करोड ४९ लाख ८३ हजार रुपैयाँ पुग्यो । शुक्रबारको यो सुधारले आगामी साता बजार सुखद रहने आशा जगाएको छ ।


प्रतिक्रिया दिनुहोस्