पोखरा महानगले ल्यायो ७ अर्ब १५ करोडको बजेट
काठमाडौं । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि कुल ७ अर्ब १५ करोड २५ लाख रुपैयाँको नयाँ बजेट सार्वजनिक गरेको छ । महानगरकी उपमेयर मञ्जुदेवी गुरुङले १९औं नगर सभामा यो बजेट प्रस्तुत गरेकिहुन् ।
’समुन्नत पर्यटकीय पोखरा’ निर्माण गर्ने मुख्य संकल्पसहित ल्याइएको यस बजेटमा चालुतर्फ ५५.१ प्रतिशत र पूँजीगत अर्थात् विकास खर्चतर्फ ४४.९ प्रतिशत रकम विनियोजन गरिएको छ ।
महानगरले बजेटको स्रोत व्यवस्थापनका लागि संघीय सरकारको वित्तीय हस्तान्तरणबाट ३ अर्ब १८ करोड ६० लाख र गण्डकी प्रदेश सरकारबाट ९ करोड १५ लाख ३६ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरेको छ ।
यसैगरी, आगामी वर्ष आन्तरिक र अन्य स्रोतहरूबाट २ अर्ब ४८ करोड ७३ लाख ९१ हजार रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएको छ । चालू आर्थिक वर्षमा महानगरले ८ अर्ब ३५ करोड १२ लाख रुपैयाँको बजेट कार्यान्वयन गरिरहेको छ ।

बजेट समीक्षा र विकास खर्चको निराशाजनक चित्र
नयाँ बजेट सार्वजनिक भइरहँदा महानगरको चालू आर्थिक वर्षको जेठ मसान्तसम्मको वित्तीय प्रगति भने निराशाजनक देखिएको छ । चालू आर्थिक वर्षका लागि विनियोजित कुल बजेटमध्ये जेठ मसान्तसम्म जम्मा ४० प्रतिशत अर्थात् ३ अर्ब ३४ करोड ६ लाख ४३ हजार रुपैयाँ मात्र खर्च हुन सकेको छ ।
विशेष गरी पोखराको भौतिक पूर्वाधार र विकाससँग जोडिएको पूँजीगत खर्चको अवस्था निकै सुस्त छ । पुँजीगततर्फ विनियोजित ४ अर्ब ८३ करोड ७९ लाख ११ हजार रुपैयाँमध्ये जेठ मसान्तसम्म जम्मा २४.२ प्रतिशत (१ अर्ब ७७ करोड ८ लाख ४७ हजार रुपैयाँ) मात्र खर्च भएको विवरणले देखाउँछ ।
यसैगरी, महानगरले आन्तरिक राजस्व संकलनमा समेत लक्ष्यको आधा पनि भेट्टाउन सकेको छैन । आन्तरिक आयतर्फ अनुमान गरिएको रकममध्ये जेठ मसान्तसम्म ४६.०२ प्रतिशत मात्र संकलन भएको छ ।












