एनसेल र ट्रिप टर्बोबीच सहकार्य, बस र हवाई टिकटदेखि साहसिक गतिविधिमा ८ हजार रुपैयाँसम्म छुट
काठमाडौं। एनसेल र ट्राभल प्लेटफर्म ट्रिप टर्बोबीच साझेदारी भएको छ। उक्त साझेदारीसँगै अब एनसेलका ग्राहकले एनसेल एपमार्फत बस तथा आन्तरिक हवाई टिकट बुकिङदेखि साहसिक गतिविधिसम्ममा विभिन्न छुट र सुविधाहरू प्राप्त गर्न सक्ने भएका छन्।
कम्पनीका अनुसार ९९ रुपैयाँ वा सोभन्दा बढी मूल्यको प्याक खरिद गर्ने प्रत्येक एनसेल ग्राहकले ट्रिप टर्बोमार्फत बस टिकट, आन्तरिक हवाई यात्रा तथा साहसिक गतिविधिमा आकर्षक छुट पाउनेछन्। साथै, ग्राहकले एनसेल एपबाटै डिजिटल माध्यममार्फत यात्रा तथा साहसिक गतिविधिसम्बन्धी सेवा सहज रूपमा उपयोग गर्न सक्नेछन्।
यस सहकार्यअन्तर्गत ग्राहकहरूले विभिन्न मनोरञ्जनात्मक तथा साहसिक गतिविधिमा अधिकतम ८ हजार रुपैयाँसम्म छुट प्राप्त गर्न सक्नेछन्। त्यस्तै, पहिलो पटक आन्तरिक हवाई टिकट बुक गर्दा २०० रुपैयाँ, त्यसपछिका प्रत्येक आन्तरिक उडानमा १४० रुपैयाँ तथा बस टिकट बुकिङमा १११ रुपैयाँ छुटको व्यवस्था गरिएको कम्पनीले जनाएको छ। यी छुटहरूको लाभ लिन ग्राहकहरूले एनसेल एपको ‘पार्टनर्ड सर्भिसेज’ अन्तर्गत रहेको ‘ट्रिप टर्बो’ सेक्सन प्रयोग गर्न सक्नेछन्। उक्त सेक्सनमार्फत ग्राहकले यात्रा तथा मनोरञ्जनात्मक गतिविधिसम्बन्धी छुटहरू सजिलै खोज्न र प्रयोग गर्न सक्नेछन्।
साझेदारीबारे एनसेलका चिफ कन्ज्युमर बिजनेस अफिसर उपाङ्ग दत्ताले कनेक्टिभिटी सेवासँगै यात्रा तथा लाइफस्टाइलसम्बन्धी थप सुविधा ग्राहकसम्म पुर्याउने उद्देश्यले ट्रिप टर्बोसँग सहकार्य गरिएको बताए। उनका अनुसार यस साझेदारीले ग्राहकलाई यात्रा थप सहज, किफायती र लाभदायी बनाउन सहयोग गर्नेछ। एनसेलले यो सहकार्यलाई डिजिटल लाइफस्टाइल पार्टनरका रूपमा आफ्नो यात्राको अर्को महत्वपूर्ण कदमका रूपमा लिएको जनाएको छ। कम्पनीले एनसेल एपको इकोसिस्टममा नयाँ सेवा तथा विश्वसनीय साझेदारका अफरहरू समावेश गर्दै ग्राहक अनुभवलाई थप समृद्ध बनाउने लक्ष्य राखेको छ।
ट्रिप टर्बोले आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई टिकट, बस टिकट, होटल बुकिङ, होलिडे प्याकेज तथा ग्राहकको आवश्यकता अनुसारका यात्रा सेवा उपलब्ध गराउँदै आएको छ। कम्पनीका अनुसार यो साझेदारीले डिजिटल प्रविधिमार्फत ग्राहकलाई थप सुविधा, बचत र छनोटको अवसर प्रदान गर्नेछ।












