आजदेखि नेपाली सडकमा देखिँदै जीडब्लुएम ओरा ५ ईभी, कस्तो छ आगो र पानी प्रतिरोधी ब्याट्री भएको यो नयाँ गाडी?
काठमाडौँ । नेपाली बजारमा विद्युतीय गाडीको बढ्दो लहरबीच आजदेखि एउटा अत्याधुनिक र शक्तिशाली एसयूभी भित्रिएको छ। ग्रेटवाल मोटर्स नेपालले आफ्नो बहुप्रतीक्षित विद्युतीय गाडी ‘ओरा फाइभ ईभी एसयूभी’ आज औपचारिक रूपमा नेपाली बजारमा सार्वजनिक गर्न लागेको हो।
जीडब्लूएम ओरा ५ लाई पूर्ण रूपमा नयाँ ईभी प्लेटफर्ममा निर्माण गरिएको छ । यसको बडी डिजाइन गोलाकार र फ्लुइडिक छ, जसले यसलाई प्रिमियम लुक्स दिन्छ । गाडीभित्र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रोसेसरद्वारा संचालित जीडब्लूएमको पछिल्लो कफी ओएस ३.० इन्फोटेनमेन्ट सफ्टवेयर राखिएको छ ।
यसको क्याबिनमा १०.२५ इन्चको डिजिटल ड्राइभर डिस्प्ले र १४.६ इन्चको विशाल सेन्ट्रल टचस्क्रिन पाउन सकिन्छ, जसले वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो सपोर्ट गर्छ । साथै, यसमा भेन्टिलेसन (हावा चल्ने) सुविधासहितको लेदर सिट, १.६५ वर्ग मिटरको ठुलो प्यानोरामिक ग्लास मुनरूफ र ६४-कलर एम्बियन्ट लाइटिङ जस्ता सुविधाहरू छन् ।
गाडीमा फ्रन्ट-माउन्टेड सिंगल इलेक्ट्रिक मोटर छ, जसले १५० किलोवाट (२०१ एचपी) पावर र २६० एनएम टर्क जेनेरेट गर्छ । यसको उच्च गति १७० किमी प्रतिघण्टा रहेको छ ।
गाडीमा ५८.२ किलोवाट आवर क्षमताको लिथियम आइरन फस्फेट (एलएफपी) ब्याट्री प्याक रहेको छ, जसलाई पानी र आगो प्रतिरोधी क्षमता बढाउने गरी विशेष रूपमा इन्जिनियरिङ गरिएको छ। यसले एक पटकको फुल चार्जमा ४३० देखि ४३५ किलोमिटरसम्मको रेन्ज दिने दाबी गरिएको छ ।
यसमा १२० किलोवाटको डीसी फास्ट चार्जिङ सपोर्ट गर्छ, जसको मद्दतले मात्र २० मिनेटमा ब्याट्री ३० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज हुन सक्छ । घरमा ६.६ किलोवाटको एसी चार्जरबाट चार्ज गर्दा ६.६ घण्टा लाग्छ ।
गाडीको मोडल र सडकको अवस्था अनुसार माइलेजमा केही फरक पर्न सक्ने भए तापनि यसले एक पटकको पूरा चार्जमा ५२० किलोमिटर सम्मको रेन्ज दिनेछ।
ओरा फाइभ ईभी एसयूभीको भित्री प्रविधि र इन्टरफेस निकै आधुनिक र प्रविधिमैत्री छ। यसमा स्न्यापड्रागन प्लेटफर्ममा आधारित कफी ओएस ३.० प्रणाली राखिएको छ, जसले गाडीका डिजिटल सुविधाहरू चलाउँदा निकै सहज र द्रुत प्रतिक्रिया दिन्छ।
यस्तै गाडीमा गाडीमा ६ किलोवाट सम्मको भेहिकल-टु-लोड प्रविधि छ, जसबाट ओभरनाइट क्याम्पिङ जाँदा गाडीको ब्याट्रीबाटै विभिन्न विद्युतीय उपकरणहरू चलाउन सकिन्छ ।
यो एसयूभीको लम्बाइ ४ हजार ४ सय ७१ एमएम, चौडाइ १ हजार ८ सय ३३ एमएम र उचाइ १ हजार ६ सय ४१ एमएम छ । नेपाली सडक अनुकूल यसको ग्राउन्ड क्लियरेन्स १७५ एमएम रहेको छ र यसमा १८ इन्चको एलोय ह्वील दिइएको छ ।
गाडीको बुट स्पेस ३६२ लिटरको छ, जसलाई पछाडिको सिट फोल्ड गरेर १ हजार ६० लिटरसम्म बढाउन सकिन्छ ।सुरक्षाका लागि यसमा लेभल २ एडभान्स ड्राइभर असिस्टेन्स सिस्टम (एडीएएस) प्याकेज दिइएको छ । यस अन्तर्गत एडप्टिभ क्रुज कन्ट्रोल, अटोनोमस इमर्जेन्सी ब्रेकिङ, लेन-किप असिस्ट र ३६०-डिग्री सराउन्ड-भ्यु क्यामरा जस्ता अत्याधुनिक सुरक्षा सुविधाहरू उपलब्ध छन् ।
आधुनिक जीवनशैली र प्रविधिलाई आत्मसात गर्दै यो गाडीमा अत्याधुनिक सञ्चार सुविधाहरू जोडिएका छन्। स्मार्टफोनलाई विना कुनै तार सहजै गाडीको प्रणालीसँग जोड्नका लागि वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटोको सुविधा छ।
यसका साथै, गाडीमा एकीकृत टेलिम्याटिक्स कनेक्टिभिटी सिस्टम राखिएको छ, जसले गाडी मालिकलाई पूर्ण रूपमा डिजिटल र आधुनिक सवारी धनीको उत्कृष्ट अनुभव प्रदान गर्दछ।












