११ महिनामा २१ अर्ब ४९ करोडको गलैँचा र अलैँची मात्र निर्यात, टप १० मा जुट, धागोदेखि फलफुलको रससम्म
काठमाडौं । नेपालको वैदेशिक व्यापार सधैँ आयातको ओझेलमा मात्रै पर्दैन, केही रैथाने नेपाली उत्पादन र स्वदेशमा मूल्य अभिवृद्धि (भ्यालु एड) हुने वस्तुले निर्यातको साख जोगाउँदै आएका छन् ।
भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ११ महिनाको वैदेशिक व्यापारको विस्तृत तथ्यांकले पनि नेपालका परम्परागत र कृषिजन्य वस्तुहरू अन्तर्राष्ट्रिय बजारमा बलियो खम्बाका रूपमा खडा भएको पुष्टि गर्छ । यस अवधिमा नेपालबाट बाहिरिएका टप १० वस्तुको सूची पल्टाएर हेर्ने हो भने नेपाली गलैँचा र अलैँचीको वैदेशिक मुद्रा आर्जन क्षमता निकै लोभलाग्दो र आशालाग्दो देखिन्छ ।

विभागको तथ्यांक अनुसार यो ११ महिनाको अवधिमा नपिसेको वा नकुटेको अलैँची र उनी गलैँचा मात्रै कुल २१ अर्ब ३९ करोड २९ लाख ८२ हजार रुपैयाँ बराबरको निर्यात भएको छ । यसमध्ये विदेशमा नेपाली अलैँचीको माग निकै उच्च देखिएको छ । समीक्षा अवधिमा कुल ६० लाख ३४ हजार ८ सय ९४ केजी अलैँची निर्यात गरेर नेपालले १२ अर्ब १ करोड १४ लाख ८६ हजार रुपैयाँ भित्र्याएको छ ।
त्यस्तै, रैथाने हस्तकलाको पहिचान बोकेको ३ लाख ३६ हजार ९ सय ४६ वर्गमिटर उनी गलैँचा तथा कार्पेट निर्यातबाट मात्रै ९ अर्ब ३८ करोड १४ लाख ९६ हजार रुपैयाँ बराबरको वैदेशिक मुद्रा नेपाल भित्रिएको छ ।
मूल्यका हिसाबले नेपालको निर्यात सूचीको सबैभन्दा शीर्ष स्थानमा भने प्रशोधित भटमासको तेल नै कायम छ । तेस्रो मुलुकबाट कच्चा तेल ल्याएर स्वदेशमा प्रशोधन गरी छिमेकी मुलुक भारततर्फ निर्यात गरिने यो व्यवसायले नेपाली निर्यातको ठूलो आयतन ओगटेको छ ।

११ महिनामा ५३ करोड ८ लाख २८ हजार ९ सय ३८ केजी यस्तो प्रशोधित भटमासको तेल निर्यात हुँदा नेपालले १ खर्ब १३ अर्ब १८ करोड ३२ लाख ३१ हजार रुपैयाँ बराबरको निर्यात मूल्य पाएको छ ।
त्यसैगरी, यस्तै प्रकृतिको प्रशोधित सूर्यमुखी र सफ्लावर तेल ७ अर्ब ९९ करोड ३२ लाख ९४ हजार रुपैयाँ र प्रशोधित पाम ओलिन ६ अर्ब १४ करोड २ लाख ३१ हजार रुपैयाँको निर्यात भएको तथ्यांकले देखाउँछ ।
नेपालको औद्योगिक र कृषिसँग जोडिएको जुट तथा धागो क्षेत्रले पनि सीमापारिको बजारमा आफ्नो पकड बलियो बनाएको देखिन्छ । भन्सारको रेकर्ड अनुसार ८ करोड ७४ लाख ९० हजार ६ सय ९७ वर्गमिटर जुटका अप्रशोधित कपडाहरू निर्यात हुँदा नेपाललाई ५ अर्ब ७८ करोड ४६ लाख ८० हजार रुपैयाँ प्राप्त भएको छ ।
हस्तकला उद्योगतर्फ फेल्ट (अन्य कपडाहरू) को निर्यात पनि उत्साहजनक रूपमा ५ अर्ब ४ करोड ४९ लाख ३३ हजार रुपैयाँ पुगेको छ । धागो उद्योगतर्फ दुई फरक वर्गका पोलिएस्टर धागोहरूले नेपाली निर्यातलाई राम्रो टेको दिएका छन् ।
जसमा ८५ प्रतिशतभन्दा कम पोलिएस्टर भएको धागो ४ अर्ब ६० करोड ८६ लाख ३९ हजार रुपैयाँको निर्यात भएको छ भने ८५ प्रतिशतभन्दा बढी भएको एकल पोलिएस्टर धागो ४ अर्ब ३९ करोड १६ लाख १९ हजार रुपैयाँ बराबर बाहिरिएको छ ।
यसका साथै, विदेशी उपभोक्ताको तिर्खा मेट्न नेपाली प्रशोधित जुस पनि उत्तिकै प्रभावकारी बनेको छ । अमिलो नहालिएको मिश्रित फलफूलको रस (जुस) मात्रै यो ११ महिनामा ५ करोड ३ लाख १७ हजार ५ सय ९० लिटर निर्यात भएर देशमा ४ अर्ब ४१ करोड ९६ लाख ५१ हजार रुपैयाँ भित्रिएको छ ।
विगत एक दशकदेखि भन्सारको आयात–निर्यातको उतारचढाव नजिकबाट नियाल्दा के प्रस्ट हुन्छ भने आयातित कच्चा पदार्थमा आधारित प्रशोधित तेलको निर्यात नीतिगत परिवर्तनसँगै धरमराउन सक्छ ।
तर, अलैँची, गलैँचा, जुट, हस्तकला र धागो जस्ता रैथाने तथा उच्च मूल्य अभिवृद्धि हुने उत्पादन नै मुलुकको दीर्घकालीन र दिगो आर्थिक वृद्धिका वास्तविक मेरुदण्ड हुन् ।












