केपिएल कप २०२६ को प्रत्यक्ष प्रसारण एक्सन स्पोर्ट्स एचडीबाट हुने « Arthapath.com
११ असार २०८३, बिहिबार

केपिएल कप २०२६ को प्रत्यक्ष प्रसारण एक्सन स्पोर्ट्स एचडीबाट हुने



नेपाल र भारतका प्रतिस्पर्धी क्रिकेट टोलीहरूको सहभागिता रहने केपिएल कप इन्टरनेसनल इन्भिटेसनल टुर्नामेन्ट २०२६ एक्सन स्पोर्ट्स एचडी मार्फत प्रत्यक्ष प्रसारण हुने भएको छ। क्रिकेटप्रेमी दर्शकहरूले असार १२ गतेदेखि असार २३ गते सम्म सञ्चालन हुने यस रोमाञ्चक प्रतियोगिताका सबै महत्वपूर्ण खेलहरू एक्सन स्पार्ट एचडी लाइभ हेर्न सक्नेछन्।

सुनसरी जिल्लाको भोक्राहा नरसिंह गाउँपालिकास्थित डा. खलिल आजाद क्रिकेट स्टेडियम मा आयोजना हुन लागेको यस अन्तर्राष्ट्रिय आमन्त्रण प्रतियोगितामा नेपाल र भारतका प्रतिष्ठित क्लब तथा क्रिकेट एकेडेमी टोलीहरूको सहभागिता रहनेछ। प्रतियोगिताले नेपाल–भारत क्रिकेट सम्बन्धलाई थप मजबुत बनाउनुका साथै स्थानीय तथा क्षेत्रीय स्तरका प्रतिभाशाली खेलाडीहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्ने महत्वपूर्ण अवसर प्रदान गर्ने विश्वास गरिएको छ।

यस प्रतियोगितामा इटहरी सुपर किंग्स, छिन्नमस्ता लायन्स, मिल्स क्रिकेट क्लब एन्ड एकेडेमी, एचपिसीए पाट्ना (इन्डिया), केसीसी (इन्डिया) तथा आरएमएल स्पोर्ट्स एकेडेमी (इन्डिया) लगायतका टोलीहरूले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिता टी २० फर्म्याटमा सञ्चालन हुनेछ।

प्रतियोगिताअन्तर्गत लिग चरणका खेलहरू जुन २६ देखि जुलाइ ३ सम्म हुनेछन् भने जुलाइ ४ मा क्वालिफायर १ र इलिमिनेटर, जुलाइ ५ मा क्वालिफायर २, जुलाइ ६ मा रेस्ट डे र जुलाइ ७ मा फाइनल खेल आयोजना गरिने तालिका सार्वजनिक गरिएको छ।

क्रिकेटप्रेमी दर्शकहरूलाई उच्चस्तरीय प्रतिस्पर्धा, युवा प्रतिभा र रोमाञ्चक खेलको अनुभव दिलाउने उद्देश्यसहित एक्सन स्पोर्ट्स एचडीले यस प्रतियोगिताको प्रत्यक्ष प्रसारण गर्न लागेको हो।

केपीएल कप इन्टरनेशनल इन्भिटेशनल टूर्नामेन्ट २०२६ ले नेपाली क्रिकेटको विकास, अन्तर्राष्ट्रिय एक्सपाेजर तथा खेल पर्यटन प्रवर्द्धनमा समेत सकारात्मक योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।


प्रतिक्रिया दिनुहोस्